६ भदौ, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमाथि रुसी सीमा क्षेत्रमा लडाइँबाट करिब ५० किलोमिटर टाढा कुर्स्क आणविक संयन्त्रमा आक्रमण गर्न खोजेको आरोप लगाएका छन्।
उनले आफ्नो दाबीका लागि कुनै प्रमाण दिएनन् वा कथित आक्रमणबारे थप विवरण दिएनन् ।
टेलिभिजनमा प्रसारित सरकारी बैठकमा उनले भने, “दुश्मनले राति आणविक ऊर्जा संयन्त्रमा आक्रमण गर्ने प्रयास गरेको थियो, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएइए लाई सूचित गरिएको छ ।”
युक्रेनले अगस्ट ६ मा कुर्स्क क्षेत्रमा ठूलो सीमापार आक्रमण सुरु गरेपछि ध्यान केन्द्रीत भएको रुसी मिडियामा संयन्त्रमा आक्रमणको प्रयासबारे कुनै पनि पछिल्ला रिपोर्ट थिएनन् ।
आइएइए प्रमुख राफेल ग्रोसीले अर्को साता कुर्स्क आणविक संयन्त्रको भ्रमण गर्ने योजना बनाएको एजेन्सीका प्रवक्ताले बिहीबार बताएका छन् ।
किएभ र मस्कोले साढे दुई वर्षको द्वन्द्वका क्रममा आणविक सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् ।
रुसी सैनिकहरूले आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको प्रारम्भिक दिनहरूमा उत्तरी युक्रेनमा परित्यक्त चेर्नोबिनल विद्युत् संयन्त्र र युरोपको सबैभन्दा ठूलो जापोरिजिया आणविक ऊर्जा संयन्त्र कब्जामा लिएको थियो ।
रुसले अहिले पनि जापोरिजिया साइटलाई नियन्त्रण गर्दछ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ‘आणविक ब्ल्याकमेल’ को आरोप लगाएका छन्।
बदलामा युक्रेनी सेनाले धेरै पटक ड्रोन आक्रमणमार्फत आणविक ऊर्जा संयन्त्रमाथि आक्रमण गर्न खोजेको मस्कोले दाबी गरेको छ ।
युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो सशस्त्र घुसपैठ गरेपछि आइएइएले रुस र युक्रेन दुवैसँग ‘गम्भीर रेडियोलोजिकल परिणामको सम्भावना भएका आणविक दुर्घटनाबाट बच्न’ ‘अधिकतम संयमता’ अपनाउन आग्रह गरेको छ ।





