समाचार

संसदीय सुनुवाइ समिति बैठक भोलि, प्रस्तावित १७ राजदूतविरुद्ध उजुरी खोलिने

१० भदौ, काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ। विभिन्न देशका लागि सिफारिस राजदूतहरूविरुद्ध परेका उजुरी तथा सूचनाहरू खोल्न बैठक बोलाइको हो। बैठक कानुन,न्याय तथा मानव अधिकार समितिको हल नम्बर २ मा बस्नेछ।

बैठकमा विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा उजुरी तथा सूचनाहरू खोलि वितरण गरिने जनाइएको छ। यसैगरी राजदूतहरूले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने र प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम कार्यताकालिका तयार गर्ने कार्यसूची रहेको छ।

सरकारले चीनका लागि कृष्णप्रसाद ओली,अमेरिकाका लागि लोकदर्शन रेग्मी र बेलायतका चन्द्र घिमिरेकोसहित नयाँ राजदूतको नाम सिफारिस गरेको थियो। सरकारले दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, जर्मनीमा डा। शैल रुपाखेती,पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल, मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ, साउदी अरबमा नरेशविक्रम ढकाल र पाकिस्तानमा रिता धिताल, डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार, श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल, रुसका लागि, जंगब चौहानको नाम सिफारिस गरिएको छ।