१४ भदौ, मस्को । मङ्गोलियाले आगामी साता सो मुलुकको भ्रमणमा जान लागेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न सक्छ भन्नेमा कुनै चिन्ता नलिएको क्रेमलिनले शुक्रबार बताएको छ ।
मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको सदस्य राष्ट्र हो र आइसिसीले पुटिनलाई पक्राउ पुर्जी जारी गरेको छ ।
हेगस्थित आइसिसीले युक्रेनी बालबालिकाको अवैध निर्वासनमा सन् २०२३ मार्चमा पक्राउ पुर्जी जारी गरेपछि राष्ट्रपति पुटिन मङ्गलबार आइसिसी सदस्यको पहिलो भ्रमणमा मङ्गोलिया जानेछन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “कुनै चिन्ता छैन, मङ्गोलियाका हाम्रा मित्रहरूसँग हाम्रो राम्रो कुराकानी भएको छ ।”
मस्कोले पुटिनको भ्रमणअघि उलनबटोरसँग पक्राउ पुर्जीका बारेमा कुराकानी गरेको थियो कि भनी सोधिएको प्रश्नमा उनले भने, “यात्रका सबै पक्षहरू सावधानीपूर्वक तयार गरिएको थियो ।”
युक्रेनले शुक्रबार मङ्गोलियालाई पुटिनले देशको भ्रमण गर्दा पक्राउ गर्न आग्रह गरेको छ । “भ्लादिमिर पुटिन युद्ध अपराधी हुनुहुन्छ भन्ने तथ्यसँग मङ्गोलिया अवगत छ भन्नेमा युक्रेनी पक्षले आशा गरेको छ”, किएभको विदेश मन्त्रालयले भनेको छ, “हामी मङ्गोलियाली अधिकारीहरूसँग बाध्यकारी अन्तर्राष्ट्रिय पक्राउ पुर्जी कार्यान्वयन गर्न र पुटिनलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा स्थानान्तरण गर्न आह्वान गर्दछौँ ।”
मङ्गोलिया सन् २००० डिसेम्बरमा आइसिसीको रोम सन्धिको हस्ताक्षरकर्ता बनेको थियो । सन्धिअन्तर्गत प्रत्येक आइसिसी सदस्यबाट पुटिनले आफ्नो भूमिमा पाइला राखे पक्राउ गर्ने अपेक्षा गरिएको छ ।
मस्कोले पक्राउ पुर्जीलाई खारेज गरेको छ तर सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्णस्तरको आक्रमण सुरु गरेपछि पहिला नै आफ्नो विदेश भ्रमणलाई धेरै कम गरेका पुटिनले अहिलेसम्म आइसिसी सदस्य मुलुकहरूको भ्रमण गरेका छैनन् ।
पुटिनले मन्चुरियामाथि जापानी कब्जाको समयमा जापान, सोभियत र मङ्गोलियाली सेनाबीचको लडाइँको ८५औँ वार्षिकोत्सव मनाउन छिमेकी मङ्गोलियाको भ्रमण गर्दै छन्





