१९ भदौ, पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्दै जनतासँग बलियो पहुँच विस्तार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
मन्त्री यादवले आज यहाँ जनता समाजवादी पार्टी जसपा जिल्ला समिति पर्साले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै विकासका मुद्दालाई प्रथामिकतामा राखेर अघि बढ्न पार्टीका कार्यकर्तालाई आह्वान गरे ।
“जनताका समस्या र विकास निर्माणका योजनालाई मुख्य प्रथामिकतामा राखेर अघि बढ्न सम्पूर्णलाई आग्रह गर्दछु”, उनले भने, “हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ । त्यसैले जनताको समस्या पनि आफ्नै समस्या ठानेर समाधान गर्र्नेतर्फ अग्रसर हुन जरुरी भइसकेको छ ।”
जनता समाजवादी पार्टी जसपाका उपमहासचिवसमेत रहेको मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ मजबुत ढङ्गले एकताबद्ध गराउन निर्देशन दिए । “जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ । हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । विकासका कार्यलाई प्राथमिकता दिनुपर्छ, जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ”, उनले भने ।





