समाचार

सुरक्षित यात्रा र महँगी नियन्त्रणका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

२४ भदौ, काठमाडौँ । सांसदहरुले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसैँमा काठमाडौँ उपत्यकाबाट लाखौँको सङ्ख्यामा नागरिक बाहिरिने भन्दै लामो दूरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले सवारी दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक मर्मत र सम्भार गर्न माग गरे । “मनसुनका कारण पहाडका सडक क्षतविक्षत् छन । लामा दूरीका सडक जस्तै मुग्लिन–नारायणगढ, नारायणगढ–बुटवल खण्ड अत्यन्त जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ”, सांसद रायमाझीले भने, “उक्त सडक खण्डमा सामान्य समयमा पनि लामो समय जाममा बस्नुपर्ने बाध्यता छ । अब दसैँका समयमा काठमाडौँबाट बाहिरने यात्रु यही सडकमा हिँड्दा अवस्था के होला”

यस्तै, अर्का सांसद रामकृष्ण यादवले चाडपर्व नजिकिँदै गर्दा अहिल्यै दैनिक उपभोग्य खाद्यन्नको मूल्य वृद्धि हुन राम्रो सङ्केत नभएको बताए । उनले अत्यावश्यक सेवा तथा उपभोग्य वस्तुको महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । “चाडपर्व लक्षित कालोबजारी र कृत्रिम अभावको नियन्त्रण गर्न आग्रह गर्छु”, सांसद यादवले भने ।

शून्य समयमा बोल्दै सांसद रेखा शर्माले पनि चाडपर्वको समयमा सडकको स्तरोउन्नति नहुँदा सडक दुर्घटना बढनेप्रति सचेत गराए । उनले बुटवल–नारायणगढ सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै चाडपर्व लक्षित गरेर उक्त सडक तत्काल मर्मतसम्भार गर्न माग गरे ।

सांसदहरु रोशन कार्की र रुक्मणी राना बराइलीले दसैँको मुखमा खाद्यान्नको मूल्यवृद्धि र अभावले आम नागरिकलाई चाडपर्वप्रतिको मनोविज्ञानमा डर पैदा गरेको गुनासो गरे । उनीहरुले बजारको अनुगमनसँगै सडक सुरक्षाका लागि आवश्यक सबै प्रकारको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराए । सभाको शून्य समयमा सांसदहरुले सर्वोच्च अदातले काठमाडौँ उपत्यकाको बागमतीसहितका नदी किनारामा निर्माण निषेधित क्षेत्र तोक्ने मापदण्डसम्बन्धी फैसलाप्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

बागमतीसहितका नदी किनारामा २० मिटर खाली छाड्नुपर्ने फैसलाले धेरै घरपरिवार प्रभावित हुने भन्दै सांसद रामहरि खतिवडाले उक्त फैसलामाथि सरकारले छिट्टै पुनरावलोकन भ्याकेट को मा जान माग गरे । “सर्वोच्च अदालतको फैसलाका कारण उपत्यकावासी जो नदी किनारामा बसोबास गरिरहेका छन्, उनीहरुको उठिबास हुने भएको छ । सरकारले भ्याकेटमा भएर जनतालाई सहज हुने काम गर्नुपर्छ”, सांसद खतिवडाले भने । सांसद खतिवडासँगै अर्का सांसद मेटमणि चौधरीले पनि उक्त फैसलाको भ्याकेटमा जान माग गरे ।

शून्य समयमा सांसद लालप्रसाद सावा लिम्बूले लालपुर्जा वितरणमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउनुभयो । उनले सरकारको लक्ष्यका बाबजुद पनि ठोस उपलब्धि हासिल नभएको भन्दै अधिकार सम्पन्न आयोग गठन गर्न माग गरे । “१८ वटा भूमि आयोग गठन र विघटन भए तापनि १३ लाख भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले लालपुर्जा प्राप्त गर्न सकेका छैनन्”, सांसद लिम्बूले भने ।

सांसद भगवती चौधरीले मोरङ, सुनसरीस्थित बूढीखोला करिडोर योजना निर्माण अलपत्र परेको बताए । यस्तै, सांसद भीमप्रसाद आचार्यले इनरुवा क्षेत्रको सडक निर्माणलाई तीव्रता दिन ध्यानाकर्षण गराए । सांसद मनिष झाले धनुषा जिल्लामा पर्यटनको सम्भावनाका विषय उल्लेख गर्दै अध्यागमन कार्यालय र इलाका प्रशासन कार्यालयको यथाशीघ्र व्यवस्थापनको माग गरे ।

सांसद माधव सापकोटाले दोलालघाटदेखि तातोपानीको सडक मर्मत एवं स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा सदनमा उठेको कुराप्रति सरकार जवाफादेही हुनुपर्ने सुझाब दिए । सांसद मङ्गलप्रसाद गुप्ताले भारतीय पर्यटकको सवारी साधानमाथि लाग्ने कर वृद्धिले पर्यटकलाई हतोत्साहित गरेको बताए । सांसद रणकुमारी बलम्पाकी मगरले मुलुकको समृद्धिका लागि सकारात्मक प्रयास र उदाहरण छायाँमा परेको गुनासो गरे । सांसद रणेन्द्र बरालीले सत्तापक्ष र प्रतिपक्षबीच मुलुक निर्माणका लागि एक हुन सुझाव दिए । सांसद रेखा यादवले खेलाडीप्रति सरकारले लगानी बढाउन जोड दिए । सांसद लक्ष्मी तिवरीले मङ्की पक्सबारे सतर्कता अपनाउन देशका विभिन्न सीमामा विशेष सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन सचेत गराए ।

सांसद मुक्ताकुमारी यादव, सांसद मेनकाकुमारी पोखरेल, रमा कोइराला पौडेल र राजेन्द्र बजगाइँले मुलुकको समग्र विकास एवं समृद्धिका लागि सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा नेपाली कांग्रेसका सांसदहरुले बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा उनको स्मरणसमेत गरे ।