२९ भदौ, बागलुङ । देशकै एकमात्र शिकार आरक्ष ढोरपाटन । युवादेखि पाका पुस्ताको रोजाइँको गन्तव्य हो । हिउँद वा वर्खा बागलुङ–बुर्तिबाङ र ढोरपाटन–सालझण्डी सडकमा गुड्ने अधिकांश सवारीसाधनले ढोरपाटन पुग्ने यात्री बोकेकै हुन्छन् । आरक्षको तल्लो भाग पाटन पुग्ने धेरै छन् । अधिकांश पर्यटक ढोरपाटनको नाममा पाटन पुगेर फर्किन्छन् । आरक्ष क्षेत्रका बुकीलगायत अझ धेरै मनोरम प्राकृतिक क्षेत्रमा पर्यटक नपुगी फर्किन्छन् ।
ढोरपाटनमा पर्यटक पुर्याउने र अड्याउने चिन्तासँगै अझ धेरै चुनौती गास, बासको छ । एकाद खुलेका रेष्टुराले पर्यटकको भोक मेटाइरहेका छन् । गतिलो थकाइ मार्ने ठाउँ छैन । स्थानीयसँग प्रशस्त उत्पादन र स्रोत छ तर त्यसको उपभोग पर्यटकले गर्नै पाएका छैनन् ।
अब भने ढोरपाटन पुग्ने पर्यटकका लागि गास, बासको समस्या सुल्झिने छ । सेकुवा, कचिला, साधेको भट्मास, छोइला बजारका रेष्टुरेण्टका रोजाइँका खाजा हुन् । तारेको भटमास, नेवारी खाजा सेट, स्थानीय खानाका परिकार, कोदोको ढिँडो, सिस्नो, कर्कलो, आटो, दूध मोहीका परिकार अब ढोरपाटन घुम्न जानेले रोजी रोजी खान पाउँछन् ।
ढोरपाटनमा सदियौँदेखि जीवनयापन गरिरहेका सर्वसाधारणकै शैलीमा बास बस्छन्, अनि प्रकृतिको अनुपम आनन्द लिएर पर्यटक फर्किने छन् । अहिले बुर्तिबाङ बजारमा ढोरपाटन र निसीका २७ युवाले तिनै पर्यटकलाई लक्षित गरेर घरवास चलाउने सीप सिकिरहेका छन् । विसं २०६७ देखि धुलिखेलमा पात्लेखेल सामुदायिक होमस्टे संचालन गरिरहेका नारायण लामाले उनीहरुलाई स्थानीय खानाका परिकार बनाउन सिकाइ रहेका छन् ।
“अर्गानिक उत्पादन नै यो क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिन्छ भन्ने प्रमुख विशेषता हो । सहभागिले पनि स्थानीय उत्पादनकै परिकार बनाउन सिक्ने रुचि देखाउनुभएको छ”, उनले भने, “यो क्षेत्रमा प्रकृतिसँग रमाउँदै स्थानीय स्वाद लिनको लागि उपयुक्त लाग्यो ।”
सहभागीले मकैको विस्कुट, स्याउको मदिरा, महका परिकार, कोदोलगायत उत्पादनकै विभिन्न परिकार बनाउने तरिका सिक्दै छन् । स्थानीय उत्पादनका परिकारसँगै यो क्षेत्रको बारेमा जानकार युवाले पथप्रर्दशकै काम गरे पनि रोजगार पाउने लामा बताए । ढोरपाटन र निसी क्षेत्रमा बजारीकरणभन्दा पनि व्यवस्थापनमा मात्रै जोड दिए होमस्टे सञ्चालन गर्न सकिने उहाँको दाबी छ । दिगो पर्यटन परियोजनाले उहाँको दाबी जस्तै घरबास चलाउनका लागि युवालाई दक्ष बनाउने र उत्प्रेरणा दिने काम गरिरहेको छ ।
‘१३ वर्ष भयो विदेशका होटल रेष्टुरेण्टमा काम गरेर फर्किएको, अब म विदेश नजाने, यही धेरै गर्न सकिन्छ भन्ने लाग्यो’ निसीखोला गाउँपालिका–३ का लोकबहादुर शाहीले भने, “जापान जाने योजना थियो, अब जापान होइन घर आँगनमै कमाउने योजना छ ।” उनले आफ्नै बारीको उत्पादनलाई बहुमुल्य बनाउने गरी घरबास चलाउने तयारीमा हुनुहुन्छ । बारीकै उत्पादनलाई आधुनिक परिकार बनाउन सकिन्छ भन्ने थाहा नभएकै कारण विदेशिनु परेको दुःख सुनाउँदै उनले भने, “लगानी थोरै, आम्दानी र सेवा दुवै हुँदो रहेछ ।”
उनी जस्तै निसी र ढोरपाटनका धेरै युवाहरुको विदेशिने योजना फेरिएको छ । आफ्नै आँगनबाट ढोरपाटन पुगेर फर्किनेले बास माग्दा छैन भनेको स्मरण गर्दै ढोरपाटन नगरपालिका–५ का युवा सोम पुनले भन्नुभयो, “व्यापार घरमै रहेछ, आम्दानी आँगनमै रहेछ, थाहै भएन, पैसा घरघरमा आउँदा धपाइयो, पैसा खोज्न विदेश जाने सोच थियो, अब बदलिएँ ।” उहाँले आफ्नै घरको उत्पादनलाई घरवासमार्फत बजारीकरण गर्ने योजना सुनाउनुभयो ।
आरक्ष र मध्यपहाडी लोकमार्ग आसपासमा ससाना होटल तथा रेष्टुराँ चलाएकाले पनि घरवासको मोडलमा जानुपर्नेमा जोड दिन थालेका छन् । निसीखोलामा होटल चलाइ रहेकी सीता भुसालले भने, “मैले होटल गर्दा सबै ठूला बजारबाट सामान किनेर चलाए । तर साग, मकै र कोदो बेच्न जानिन् ।” सहरबाट आउनेहरुले उतैको खोज्छन् होला भन्ने लागेर गाउँको उत्पादन खान दिईएन्, तर घुम्न आउनेले गाउँकै खान खोज्ने भुसालले बताए ।
ढोरपाटन ९ सुकुरधुङ्की निशा घर्तिमगरको घर नजिकै विद्यालय छ । विद्यालयकै कारण घरमा सामान्य चिया नास्ताको होटल पनि चलेको छ । भर्खरै १२ पास गरेकी उनी विदेश जाने योजना बनाउँदै थिइन् । तर घरवाससम्बन्धी तालिमपछि उहाँले विदेश जाने योजना रद्द गरेको सुनाए । ‘मैले भर्खरै १२ पास गरे । विदेश जाने कि भन्ने योजना थियो । तालिम लिने अवसर मिल्यो । अब त भएको पसललाई व्यवस्थित गर्न सकियो भने त आफैँ गाउँ ठाँउमा केही गर्न सकिन्छ भन्ने आँट पलाएको छ ।” आफ्नै गाउँको स्रोतसाधन उपयोग गरेर व्यवस्थित गर्नसके नेपालमै सम्भावना रहेको निशाले सुनाए ।
“गुणस्तर, सरसफाइ र मौलिकतालाई ख्याल गर्नुपर्छ सम्भावना हाम्रो ठाउँमा छ”, निशाले थप्नुभयो । तालिममा सहभागी सबैले आफ्नै गाउँमा केही गर्ने आँट आएको बताउँदै गर्दा परियोजना प्रमुख अमर थापा ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकामा मात्रै ३० वटा होमस्टे सञ्चालनको लागि आफूहरुले सहयोग गर्ने बताए । “हामीले निसी र ढोरपाटनमा पाँच वटा घरवासलाई दुई लाख ५० हजार बराबारको किचन र वेड सामग्री वितरण गरिसक्यौँ, अब नयाँ गर्न चाहने युवाहरुको लागि ढोरपाटनमा २० र निसीमा १० जनालाई सहयोग गर्ने योजना छ । एक सय ५० जनालाई सीप सिकाउने हो”, उनले भने । सन् २०२६ सम्म चल्ने परियोजनाअन्तर्गत सीप सिकिरहेका युवालाई बिवाइसीले सहयोग गर्नेछ । यस क्षेत्रमा पर्यटनबाटै सफल व्यवसायी बन्न सक्ने प्रशस्त आधार रहेको उनको भनाइ छ ।