२९ भदौ, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेवा संस्कृति देशको सांस्कृतिक वैभव भएको बताएका छन् ।
ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवा संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताए ।
प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक भएका बताउँदै संस्कृति र सभ्यता बिग्रिएमा सयौँ वर्षमा पनि बनाउन नसकिने उल्लेख गरे ।
“राजनीतिक र आर्थिक स्थिति बिग्रिएमा केही वर्षमा बनाउन सकिन्छ । संस्कृति र सभ्यता बिग्रिएमा फेरि त्यसलाई पुरानै स्वरुपमा बनाउन सकिँदैन ।” प्रधानमन्त्रीले भने, “हाम्रो संस्कृति र सभ्यता अमर रहोस् भनेर ज्येष्ठ नागरिकहरुले कामना गरिरहनुभएको छ । संस्कृति र सभ्यतालाई युवा पुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो । ”
प्रधानमन्त्री ओलीले १०५ वर्षीया मनमाया महर्जनले कला–संस्कृतिको संरक्षणमा मार्ग निर्देश गर्नुभएकामा आभार प्रकट गर्दै उहाँको दीर्घायुको कामना गरे । साथै उनले समाजका विविध क्षेत्रमा योगदान गरेका व्यक्ति तथा माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरेका थिए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको कला, संस्कृतिको संरक्षणमा अहं भूमिका निर्वाह गरेको बताए ।
बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले ज्यापू समाज र संस्कृति नेपाली सभ्यताको धरोहर भएको बताए ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ज्यापू समाजले आफ्नो परम्परा, भाषा, कला, संस्कृति संरक्षणमा उल्लेखनीय सहयोग पुर्याएको भन्दै समाजको सहयोगका कारण रातोमच्छिन्द्रनाथको रथयात्रा व्यवस्थित हुने गरेको बताए ।
ज्यापू महागुथिका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र महर्जनले यो समाजले आगामी दिनमा आफ्नो समुदायका अधिकार स्थापित गर्नेतर्फ लाग्नुपर्ने बताए ।
त्यस अवसरमा प्रथम महिला राधिका शाक्य पनि उपस्थिति थिए ।