१३ असोज,अमेरिका । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गरेका छन्
बेरुतमा इजरायली हवाई आक्रमणमा परी हेजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि गुटेरेसले यो टिप्पणी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत गुटेरेसले भने “विगत २४ घण्टामा बेरुतमा भएका घटनाहरुमा म गम्भीर चिन्तित छु। हिंसाको यो चक्र तत्काल बन्द हुनुपर्छ ।”
“लेबनानी जनता, इजरायली जनता साथै सम्पूर्ण क्षेत्र युद्धको खर्च वहन गर्न सक्दैनन्”, उनले बतए ।
यसैबीच,संयुक्त राष्ट्र बाल कोष युनिसेफले एक्समा एउटा पोस्ट साझा गर्दै भन्यो, “लेबनानको त्रासदी माथि त्रासदी थपिँदै छ । हाल हिंसाको वृद्धिले हजारौँको ज्यान लिएको छ र मानिसमा अकल्पनीय डर पैदा गरेको छ । लेबनानका बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ ।”
इजरायली रक्षा बल आईडीएफ ले पनि शनिबार बेरुतको दहिह जिल्लामा गरेको आक्रमणमा वरिष्ठ हिजबुल्लाह गुप्तचर हसन खलील यासिनको मृत्यु भएको सेनाले जनाएको छ ।
यसैबीच, हिजबुल्लाहले बेरुतमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्युलाई आधिकारिक रूपमा स्वीकार गरेको सिएनएनले जनाएको छ ।
लेबनानको स्वास्य्म मन्त्रालयले हसन नसरल्लाहलाई लक्षित गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु र दर्जनौँ घाइते भएको जनाएको छ।
साथै, नसरल्लाहको मृत्युपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आयातोल्लाह शासनलाई चेतावनी दिँदै इजरायललाई लक्षित आक्रमण गर्नेले भयानक परिणाम भोग्नुपर्ने र इरान वा मध्यपूर्वको कुनै पनि स्थान इजरायलको पहुँचभन्दा बाहिर नभएको बताए।




