१ कात्तिक, काठमाडौँ । नेकपा एमाले का महासचिव शंकर पोखरेलले साना दलका ठूला–ठूला नेताहरु निकट भविष्यमै एमालेमा प्रवेश गर्ने तयारी रहेको बताएका छन् ।
आज दाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावमा गठबन्धनको राजनीति नचल्ने बुझेर धेरै वामपन्थी नेताहरु एमालेमा प्रवेश गर्न लागेको बताएका हुन् । उनले एमालेले एकताको अभियान चलाउने र आगामी निर्वाचनबाट निर्णायक शक्ति बन्ने उनले बताए ।
‘केही समय पछाडि सानातिना पार्टीका ठूला–ठूला नेताहरु एमालेमा जोडिने क्रम सुरु हुनेवाला छ । मैले को–को भनेर अहिले नभनौं । जतिपनि सानातिना वामपन्थी पार्टीहरु छन्, गठबन्धनको राजनीति चल्दैन भनेपछि अब उनीहरुले आफ्नो भविष्य छैन भन्ने कुरा थाहा पाइसकेका छन् । एमालेमा जोडिनुपर्छ भन्न थालेका छन् । हामी निकट भविष्यमा एउटा अभियान चलाएर सबैलाई जोडेर एमालेलाई निर्णायक शक्ति स्थापित गर्ने अभियानमा रहेका छौं,’– उनले भने ।