राजनीति

तीन दल बैठकः शान्तिप्रक्रियाको काम तत्काल अघि बढाउने सहमती

१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको, शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिलाई पदाधिकारी बनाउनुपर्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

“एक-दुई दिनभित्र सिफारिस समितिलाई पूर्णता दिने विषयमा छलफल भएको छ, सिफारिस समितिले पूर्णता पाएपछि आयोगमा पदाधिकारी सिफारिस हुन्छ”, बैठकपछि उनले भने, “शान्ति प्रक्रियाको भावना र कानुनी प्रक्रियालाई बुझ्ने खालका व्यक्तिको आयोग बनोस् भन्ने सबैको चाहना छ तर कस्तो व्यक्ति पठाउने दुई आयोगमा भन्ने कुरा सिफारिस समितिले गर्नेछ ।”

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्न अघिल्लो सरकारले सिफारिस समिति बनाएको थियो । गत भदौ १३ गते राष्ट्रपतिबाट दुवै आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव बस्नेत र महान्यायाधिवक्ता रमेश वडाल सहभागी थिए ।