अन्तर्राष्ट्रिय

१४० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसियामा

८ कात्तिक, इन्डोनेसिया । पश्चिमी इन्डोनेसियामा बिहीबार कम्तिमा १४६ रोहिंग्या शरणार्थीहरू आइपुगेको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार समुद्रको अवस्था शान्त भएपछि उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू आगमन पुनः बढेको छ ।

मुस्लिम समुदायका रोहिंग्याहरूलाई म्यानमामा असमानता र आफ्ना अधिकारहरु बाट वञ्चित भई हरेक वर्ष मलेसिया, इन्डोनेसियालगायतका देशमा पुग्न लामो र खतरापूर्ण समुद्री यात्रा गर्ने गर्छन् ।

उत्तरी सुमात्रा प्रान्तको पान्ताई लाबु सहरमा अवतरण गरेको डङ्गामा ६४ जना पुरुष, ६२ जना महिला र २० जना बालबालिका शरणार्थीहरू रहेको स्थानीय अधिकारी मुहम्मद फैसल नसुसनले बताएका छन्।

उनका अनुसार शरणार्थीहरूलाई स्थानीय जिल्ला कार्यालय स्थित अस्थायी आश्रयमा लगिएको जहाँ उनीहरू स्थानान्तरणको प्रतीक्षामा छन् ।

नासुसनले भोका नाङ्गा तथा तकित अवस्थामा रहेका शरणार्थीहरूलाई स्थानीयहरूले कपडा तथा खाद्यान्न उपलब्ध गराएको बताएका छन् ।

उनीहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी युएनएचसीआर को स्थानान्तरणको थप निर्देशनको प्रतिक्षामा रहेको र शरणार्थीहरूलाई सहयोगार्थ एउटा टोली घटनास्थलमा रहेको इन्डोनेसियामा युएनएचसीआरका लागि सुरक्षा सहयोगी फैसल रहमानले बताएका छन्।

उत्तरी सुमात्राको सिमानामा रहेको दक्षिणी आचेहको तटबाट एक माइल टाढा एक सय भन्दा बढी शरणार्थीको अर्को समूह रहेको उल्लेख गर्दै युएनएचसीआरले बिहीबार उनीहरूको उद्धारको योजना बनाएको जनाएको छ ।