राजनीति

कांग्रेसको जन्म नै जहानियाँ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि भएको इतिहास छ : उपसभापति खड्का

९ कात्तिक, महोत्तरी । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थापनाकालदेखि कांग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि भएको बताएका छन् ।

आज नेपाली कांग्रेस महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले समयकालमा सङ्घर्षका स्वरुप फरक भए पनि सबैको निचोड समुन्नत लोकतन्त्र भएको स्पष्ट पारेका हुन्।

“नेपाली कांग्रेसको जन्म नै जहानियाँ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि भएको इतिहास छ”, उनले भने, “कांग्रेसले झण्डै आठ दशक जनताका प्रजातान्त्रिक अधिकार र तिनको संस्थागत विकासमा खर्चेको छ ।” पछिल्लो दशकमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको संस्थागत विकासका लागि आफ्नो दलले सम्पूर्ण ध्येय केन्द्रित गरेको उनको भनाइ छ ।

दुई दिने प्रशिक्षणमा जिल्ला कार्य समिति र स्थानीय तहमा रहेका समितिका पदाधिकारी तथा सदस्य सहभागी छन् । प्रशिक्षण कार्यक्रममा डा कृष्णप्रसाद पौडेल, डा सुरेश आचार्य, नेत्री नानु बास्तोला र डा अच्युत वाग्ले प्रशिक्षकको रुपमा रहेको कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए ।