बाग्मती

सामुदायिक वनभित्र खेती र मल उत्पादन

२६ कात्तिक, हेटौँडा । “पशुपालन नगरे पनि मलको कमी छैन”, यहाँको मनहरी गाउँपालिका–७ की कृषक विमला राईले भने, “पहिले पशुपालन गर्दा अरू काम गर्नै भ्याउँदिन थिएँ । पशु नपालौँ खेती गर्न मल धेरै चाहिने । अहिले त्यो समस्या छैन, ढुक्क छु ।”

हाल होटल व्यवसायसँगै खेती गरिहरेकी उनको आर्थिकस्तर पहिलेको तुलनामा सुध्रिएको छ । वनको छेउमै घर हुँदा तीन वर्ष अघिसम्म हिउँद लागेपछि डढेलोले घर भेट्ला कि भन्ने चिन्ता हुन्थ्यो । छिमेकीको गोठमा आगो लागेपछि निकै रातसम्म अनिँदो बसेको उनले बिर्सेका छैनन् ।

यी समस्याका समाधान खोज्ने क्रममा वन समूहले पत्करबाट मल उत्पादन गर्न थालेपछि डढेलो लाग्न छोडेको उनी बताउछन् । उनी वन समूहको आयआर्जन समूहमा पनि आबद्ध हुनुहुन्छ । आयआर्जन कार्यक्रममा ‘ग्रिन फाउन्डेसन नेपाल’ जिएफएन नामक संस्थाले सहयोग गरिरहेको छ ।

सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन पनि वनमा गरिएको कागती, तेजपत्ता, अम्रिसोखेतीले आम्दानी गर्न सहज भएको बताउछन् । उनी भन्छन्, “पहिले वन संरक्षण मात्र गर्ने होजस्तो लाग्थ्यो तर यहाँ खेती पनि गर्न पाउँदा आम्दानीको स्रोत बनेको छ ।” उनले २० वटा बाख्रा पालेका छन् । बाख्रालाई घाँस लिन टाढा जान पर्दैन । बाख्राबाट पनि आम्दानी भइरहेको उनको भनाइ छ ।

पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन मुनि रुख नभएका स्थानमा जडीबुटी र घाँसखेती गरेको छ । जिएफएनको सहयोगमा अदुवा, बेसार र सर्पगन्धाको खेती गरिरहेको समूहकी अध्यक्ष चम्पामाया परियारले जानकारी दिए । उनले भने, “यहाँ यसरी आम्दानी हुन्छ जस्तो लागेको थिएन, गर्दा नहुने केही रहेनछ ।” जडीबुटीसँगै यस वर्ष अदुवा पनि खेती गरिएको उनले बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले मनहरी गाउँपालिकाका तीनवटा सामुदायिक वनमा खेती र मल उत्पादन गरिएको बताए। वनबाट समृद्ध बन्ने र जलवायु परिवर्तनको असर कम गर्ने अभियानअन्तर्गत यहाँका डिपार्ट सामुदायिक वन, पशुपति सामुदायिक वन र सुनाचुरी सामुदायिक वनले वनक्षेत्रभित्र खेती र मल उत्पादन गरिरहेको छ ।

वनमा आधारित ३७ उद्यमहरुलाई दिगो बनाउँदै बजारसँग जोडेर हरित उद्यम विकास गर्न सहयोग गरिरहेको जिएफएनका अध्यक्ष घनश्याम पाण्डेले बताए । उनका अनुसार जिएफएनले वनकरिया साबुन उद्योग, पिप्लेपोखरा सामुदायिव वनमा रहेको श्रमजीवी महिला काष्ठ हस्तकला, हेटौँडा–१२ मा कञ्चनजङ्घा गुन्द्रुक उद्योग, न्युरेनी सामुदायिक वनमा रहेको दुना टपरी उद्योग र थाहा नगरपालिकाको अल्लो उद्योगको उत्पादन र बजारीकरणमा सहयोग गरिरहेको छ ।

पानीका मुहान सुक्न थालेपछि मनहरी गाउँपालिकाका सामुदायिक वनहरुले पुनर्भरण रिचार्ज पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीले डिभिजनअन्तर्गतका सामुदायिक वनमा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरिरहेको जनाएको छ ।

उपभोक्ताले दैनिक पिउने पानीका स्रोत सुक्दै जानु र वनमा जनावरहरुले पानी खान नपाउँदा समस्या भएकाले रिजार्च पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको डिभिजन वन कार्यालयका अधिकृत गगन शर्माले बताए । गत आर्थिक वर्षमा सातवटा सामुदायिक वन समूहमा आठवटा रिजार्च पोखरी निर्माण गरिएका छन् ।

चुरे तथा सुक्खा क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेपश्चात् पानीको मुहान संरक्षण र वन्यजन्तुका लागि पानीको उपलब्धतामा सहज भएको छ । वन अधिकृत शर्माले भलबाढीका कारण पोखरी पुरिँदा थोरै समस्या हुने गरेको बताए । सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि वृक्षरोपण र संरक्षण गरिएको छ । लोपोन्मुख विजयसाल, सतिसाल, दार, चिउरी तथा बहुउपयोगी नीम रोपिएको छ । लोपोन्मुख वन्यजन्तु सालकको संरक्षणमा विशेष जोड दिइएको छ ।