राजनीति

नेपाल विश्वव्यापी समानता र विकासको स्तर वृद्धिका लागि योगदान गर्न दृढ रहेको छ : उपाध्यक्ष पोखरेल

२९ कात्तिक, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘ग्लोबल साउथ’ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव सेवामा लाग्नुपर्ने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा भएको ‘दोस्रा ग्लोबल साउथ थिङ्क ट्याङ्क्स डाइलग’ कार्यक्रमको ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा थप एकताबद्ध भएर सामूहिक हित र मानव समृद्धिका लागि लाग्नुपर्ने बताए ।

सभ्यताको अनुभव आदानप्रदानले विश्वका सबै मुलुकलाई आपसी समझदारी बढाउन र शान्ति तथा सुखमा ठूलो योगदान दिनुपर्नेमा जोड दिँदै उपाध्यक्ष पोखरेलले सभ्यताको आदानप्रदानले नै मानव समाज आजको विकसित र वैज्ञानिक युगमा पुगेको स्मरण गराए । उनले प्रकृतिले धेरै स्रोतको उपहार दिएको नेपालमा रहेका प्राकृतिक स्रोतलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सघाउन आग्रह गरे ।

जलविद्युत्, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृृतिक स्रोतलाई ग्लोबल साउथका जनताको समृद्धिका लागि उपयोग गर्न सकिने उपाध्यक्ष पोखरेलले बताए । हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौँदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धिमूलक हुने उनले विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले ‘ग्लोबल साउथ’ को साझा विकासका लागि आधार तयार भइरहेकोमा खुसी व्यक्त गरे । शक्ति एकताबाट जन्मिने चर्चा गर्दै उनले समृद्ध ग्लोबल साउथ निर्माण गर्न सबैको योगदान जरुरी रहेको उल्लेख गरे । ग्लोबल साउथको सदस्यका हैसियतले नेपाल विश्वव्यापी समानता र विकासको स्तर वृद्धिका लागि योगदान गर्न दृढ रहेको उनले बताए ।

ग्लोबल साउथ देशका समस्यालाई सामूहिक रूपमा मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वव्यापी अभियानलाई थप सुदृढ बनाउन कार्यक्रम आयोजना गरिएको हो । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा सोही कार्यक्रममा सहभागी हुन एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डल अहिले चीन भ्रमणमा छ ।