१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २०६४ को निर्वाचनमाजस्तै अहिले कीर्तिपुरवासीले उत्साह देखाएको बताएका छन् ।
आज कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
‘हामी कसैको डर, धाक, प्रलोभन, लोभ लाचनमा नफसिकन एकचोटी विकास निर्माणको नयाँ अभियानमा अघि बढ्ने अवसर हामीसँग छ । कीर्तिपुरले फेरि एउटा रेकर्ड बनाउनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु,’ दाहालले भने ।
उनले अहिले हुने गैरहेको स्थानीय तहको ४४ ठाउँको उपनिर्वाचनलाई जनता भ्रष्टाचारको पक्षमा कि विपक्षमा भनेर फैसला गर्ने सर्वोच्च अदालतको संज्ञा दिए ।
उनले भने, ‘नेपाली जनता भ्रष्टाचारको पक्षमा हुन सक्दैनन् । नेपाली जनता भ्रष्टाचारको विरुद्धमा छन् । नेपाली जनता सुशासनको पक्षमा छन् । सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा छन् । यो उपनिर्वाचन, हेर्दा उपनिर्वाचन भएपनि यथार्थमा भ्रष्टाचार पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह नै हो ।’