१३ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तामा एक पटक खबर पठाउने गरेको बताएका छन् ।
आज कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचारीको संरक्षण गर्न कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेको भनी प्रचण्डले लगाउँदै आएको आरोपको खण्डण गर्दै उनले भने, ‘प्रचण्डले अहिले भर्खर भनेर जानुभएछ– यो यो कारणले गर्दा सरकार बदलियो । नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ– लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर ।’