२१ मंसिर, काठमाडौँ । नेपाली काँग्रेस कोसी प्रदेशको शनिवार हुने भनिएको प्रदेश स्तरीय सम्मेलनमा विवाद देखिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाद्वारा बिहान ८ बजे उद्घाटन हुने भनिएको उक्त सम्मेलनमा वरिष्ठ नेता डा शेखर कोइराला समूह उपस्थित नहुने बताइएको छ ।
सभापति देउवा पक्षका कोसी सभापति उद्धव थापा पक्षले एकपक्षीय ढङ्गले कार्यक्रम गरेको भन्दै डा कोइरालालगायत उक्त पक्ष अहिलेसम्म सम्मेलनमा उपस्थिति नहुने निर्णयमा छ ।
केहीदिन अगाडी विराटनगरमा नै वरिष्ठ नेता डा कोइरालाको प्रमुख आतिथ्ययतामा गुरुराज घिमिरे, राजीव कोइराला, डा. मिनेन्द्र रिजाल लगायतका केन्द्रीय नेताहरूको उपस्थितिमा प्रदेश स्तरीय भेला भएको अवस्थामा शनिवारको कार्यक्रममा उपस्थित नहुने जानकारी दिएका छन् ।
नेता गुरुराज घिमिरेले वरिष्ठ नेता डा कोइराला पक्षलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले गर्न लागिएको सम्मेलनमा आफ्नो समूहको उपस्थिति नरहने जानकारी दिएका छन् । १४ औँ महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा विजयी भएका थिए भने डा कोइराला दोस्रो मत ल्याएर पराजित भएका थिए। मतका आधारमा स्वतः डा कोइराला वरिष्ठ नेता हुनुपर्ने भए पनि उनलाई देउवाले वरिष्ठ नेता बनाउन इन्कार गरेको भन्दै कोइराला पक्ष देउवा पक्षसँग रुष्ट छ । गुट उपगुट अन्त्य गर्दै १४ औँ महाधिवेशनको मत परिणामका आधारमा डा कोइरालालाई बिना-शर्त वरिष्ठ नेता बनाउनुपर्ने केन्द्रीय सदस्य राजीव कोइरालाले तर्क गरेका छन् ।
वरिष्ठ नेता डा कोइरालालगायतका अधिकांश नेताहरू भने कार्यक्रमको पूर्वसँध्यामा विराटनगरमा नै रहेका छन् । देउवा पक्षको अल्पमत रहेको कोसी प्रदेश, विराटनगर र सुनसरी–मोरगंले कोसी सम्मेलनलाई नकारात्मक असर गर्ने हुँदा उक्त सम्मेलनलाई सफल बनाउन देउवा पक्षले कोइराला पक्षलाई मनाउन भूमिका खेल्ने अनुमान भने राजनीतिक वृत्तमा लगाउन सकिन्छ । सम्मेलनमा भाग लिन सभापति देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, नेता प्रकाश शरण महतलगयातका नेताहरु आजै बिराटनगर जाने बताईएको छ ।