२२ मङ्सिर, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले कोसी प्रदेश सम्मेलनमा बोल्दै वरिष्ठ नेता डा शेखर कोइरालालाई आफ्नै गृह नगरको केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको बृहद् कार्यक्रममा उपस्थिति गराउन नसक्नु गल्ती भएको बताएका छन् ।
उनले डा शेखर कोइराला उपस्थिति हुनुभएको भए कार्यक्रम अझ राम्रो हुनेमा शङ्का नभएको बताउँदै ६०/४० को विषय कसले उठाएको हो त्यो बुझ्नुपर्ने बेला आएको जिकिर गरे । पार्टी फुटेको समयमा पनि आफूले गुट उपगुट गर्न नखोजेको भन्दै डा कोइराला भएको भए कार्यक्रम परिपूर्ण, भव्य, सुसज्जित हुने विचार व्यक्त गरेका छन् ।
उनले आक्रोशित हुँदै आफू सधैँ गुट-उपगुटको विपक्षमा रहेको बताउँदै आफ्नो कार्यकालमा सुनसरीको सभापति दुई कार्यकाल हुँदा असन्तुष्ट पक्षलाई पनि मिलाउँदै गरेको कुरालाई सम्झनसमेत नेताहरूलाई आग्रह गरे । आज बिहान केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको कार्यक्रममा बोल्दै १२ औँ महाधिवेशनमा जिल्ला सभापति भएका बेला रामचन्द्र पौडेलको प्रमुख आतिथ्य भएका बेला सुनसरीको कार्यक्रममा शेरबहादुर देउवाको कुरा उठेको सम्झना आएको कुरा बताए । उनले आज विराटनगरमा भएको काँग्रेस कोसी सम्मेलन बहिस्कार गर्दै डा शेखर कोइराला चितवन गएपछि राजीव कोइरालाले उक्त कुरा बताएका हुन् ।