राजनीति

श्रम र परिश्रम गर्नेको कदर गरेनौँ भने देशको विकास हुँदैन : उपप्रधानमन्त्री सिंह

३० मङ्सिर, काठमाडौँ । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले ज्यापू दिवस काठमाडौँ उपत्यकाका नेवार समुदायको मात्र नभई देशभरिका किसानको दिवसका रूपमा रहेको बताएको छन् ।

ज्यापू संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा उनले नयाँ बाली भित्र्याइसकेपछि त्यसको चामलबाट नै योमरी बनाउने गरिएकाले यो दिवस सबै किसानको दिवस रहेको बताए ।

उपप्रधानमन्त्री सिंहले हाम्रो समाजमा परिश्रम गर्नेलाई तल्लो तहबाट हेर्ने गरेकामा त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । “श्रम र परिश्रम गर्नेको कदर गरेनौँ भने विकास निर्माण हुँदैन । आजको दिवसमा खेतमा परिश्रम गरेर सबैलाई खाद्यान्न पु¥याउने परिश्रमीलाई सम्मान गर्नुपर्दछ”, उनले भने ।

मन्त्री सिंहले ज्यापू दिवसलाई व्यवस्थित बनाउन एउटा स्थायी कोष स्थापना गर्नुपर्नेमा जोड दिँदै पुर्खाले सिकाएको संस्कृति र चाडपर्वलाई निरन्तरता दिनुपर्ने बताए ।

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले योमरी कृषि सभ्यताको प्रतीक रहेको बताए । उनले भाषा, संस्कृति रहनसहन, खानपान, वेशभूषा र परम्परा रहेको नेवार समुदायजस्तो विश्वमा अन्य समुदाय नभएको बताए ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल विभिन्न संस्कृतिको देश भएको बताए । उनले नेपालमा मनाइने विभिन्न जात्राहरूले मुलुकको सांस्कृतिक महत्वलाई उजागर मात्र नगरेर देशको पहिचान बोकेको बताए। उपप्रमुख डङ्गोलले मुलुकको आर्थिक क्रान्ति ल्याउन पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए ।