राजनीति

सभापति देउवाको गृहप्रदेशमा डा कोईरालालाई स्वागत गर्ने नेताकार्यकर्ताको भीड, कोईराला क्रेज पुष्टी भएको कार्यकर्ताको तर्क

५ पुस, सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएको छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए । “यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, नेता डा कोइरालाले भने ।

उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे । नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेको हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम मालासहित भव्य स्वागत गरेका थिए ।

सभापति शेरबहादुर देउवाको गृहागरमा समेत वरिष्ठ नेता डा कोईरालालाई स्वागत गर्न काँग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति हुनुले डा कोईराला प्रतिको कार्यकर्ता क्रेजको रुपमा देखिएको उक्त स्वागतमा उपस्थित काँग्रेसजनले बताएका छन् । सुदूरपश्चिमलाई सभापति देउवाको होल्ड प्रदेशको रुपमा लिईन्छ ।