राजनीति

राजनीति समाजसेवा हो, राजनीतिमा लाग्ने वित्तिकै भ्रष्टाचारी हुन्छन् भन्ने भाष्यलाई चिर्नुछ

६ माघ, पाटन (ललितपुर) । बिपी कोइराला नेतृत्व विकास प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले राजनीति सुधारका लागि सबैले पहिला आफैँबाट सुधार गर्नुपर्ने जोड दिएका छन् ।

प्रतिष्ठानले २०६२/६३ को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर सङ्घर्ष गरेका समकालीन नेविसङ्घ, तरुणहरुलाई समेटेर आज काठमाडौँमा आयोजना गरेको ‘सशक्त र सङ्गठित कांग्रेसका लागि स्वयं सुधार अभियान’ विषयक अन्तरक्रियाका वक्ताहरुले आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व दिन नयाँ सोचका साथ पार्टीभित्रको गलत सोच र प्रवृत्ति विरुद्ध लड्दै नयाँ योजनासहित जनतामाझ जानुपर्ने बताएका छन् । नेविसङ्घका पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णले भविष्य बनाउनुपर्ने महत्वपूर्ण समयमा राजनीतिमा योगदान दिएर त्याग गरेका योद्धाहरु अहिले ओझेलमा परेकाले उहाँहरुलाई मूलधारको राजनीतिमा स्थापित गरिनुपर्ने बताए ।

“राजनीति समाजसेवा हो, राजनीतिमा लाग्ने वित्तिकै भ्रष्टाचारी हुन्छन् भन्ने भाष्यलाई चिर्नुछ, नेताप्रतिको नागरिकको दृष्टिकोणलाई बदल्नुछ, राजनीति पैसा कमाउने माध्यम हैन”, उनले भने । गणतन्त्रपछि देश समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने आमचाहना बमोजिम काम हुन नसकेको उल्लेख गर्दै पूर्वअध्यक्ष कर्णले यसलाई सुधार गरेर लैजानुपर्नेमा जोड दिए ।

नेविसङ्घका पूर्वउपाध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार निलकण्ठ रिजालले पार्टी सङ्गठनलाई चरम गुटबन्दी, व्यक्तिवादी प्रवृत्ति र चाकरी प्रथाजस्ता नकारात्मक कुराको प्रभावबाट बचाउन पहिला आफैँले आफूलाई सुधार अथार्त् ‘स्वयं सुधार’ आवश्यक भएको बताए ।

“विसं २०६२/६३ को अग्रमोर्चामा रहेर सङ्घर्ष गरेका, घाइते एवं अङ्गभङ्ग भएका लोकतान्त्रिक योद्धा हाल निरन्तर पार्टी सङ्गठनमा क्रियाशील रहँदारहँदै  पार्टी राजनीतिमा ओझेल परेका छन्, आज हामीले प्राप्त उपलब्धि हिजो त्यही लोकतान्त्रिक योद्धाहरुको रगत, परिश्रम र कठिन सङ्घर्षका कारण प्राप्त भएको हो । पार्टी राजनीतिभित्र त्यस्ता लोकतान्त्रिक योद्धालाई ओझेलमा पारेर पार्टी बलियो हुन सक्दैन । त्यसैले नेपाली कांग्रेसलाई अझ सशक्त र सुदृढ बनाउन युवा लोकतान्त्रिक योद्धाहरु हातेमालो गर्दै, एकापसमा सहयोग आदानप्रदान गर्दै, सङ्गठित हुँदै अगाडि बढ्न यो प्रयास गरिएको हो”, उनले भने ।

नेविसङ्घका पूर्वउपाध्यक्ष वीरेन्द्र शर्माले जनतालाई गुम्राहमा राख्ने शक्ति विरुद्ध लड्नुपर्ने बताए । नेताहरुका गलत प्रवृत्तिले योग्य व्यक्ति भूमिकाविहीन हुँदै ओझेलमा पर्नुपरेको उनले बताए ।

नेपाली कांग्रेस ललितपुरका महाधिवेशन प्रतिनिधि विमलचन्द्र विष्टले पार्टीभित्र व्याप्त निरासा चिर्दै आशा जगाउने गरी अगाडि बढ्नुपर्ने बताए । धनुषाका मनहरि श्रेष्ठले लोकतन्त्र बलियो भए मात्रै देश बलियो हुन्छ भन्दै गुट, उपगुटमा लागेर पार्टी सुधार हुन सक्दैन भने । उनले आफूमा सुधार नभई नेतैपिच्छेका गुट उपगुटमा लाग्दा समस्या सृजना हुने भन्दै अवसर नपाएका, स्पष्ट दृष्टिकोण भएका नेता तथा कार्यकर्तालाई अगाडि बढाउन सबै मिलेर सहयोग गर्नुपर्छ भने । 

झापाकी उमा सिवाकोटीले भड्किँदै गएको समाजलाई सकारात्मक लयमा ल्याउन इमानदार नेता तथा कार्यकर्तालाई राजनीतिक नेतृत्वमा स्थापित गर्न आवश्यक भएको बताए । बिपी कोइराला नेतृत्व विकास प्रतिष्ठानका अध्यक्ष किरण पोखरेलले संस्थालाई साझा थलोका रुपमा विकास गर्दै निरन्तर बहस गर्ने राजनीतिक मञ्च तयार गरिने बताए ।

भेलाले स्वयं सुधार अभियानलाई देशभर सञ्चालन गर्ने, विसं २०८२ वैशाख ११ गते भृकुटीमण्डपमा लोकतान्त्रिक आन्दोलन २०६२/६३ सालको अग्रमोर्चामा संघर्ष गर्ने बृहत लोकतान्त्रिक योद्धाहरुसँग भेटघाट गर्ने र लोकतान्त्रिक आन्दोलन २०६२/६३ को अग्रमोर्चामा सङ्घर्ष गरेकाहरुलाई पार्टीभित्र न्यायपूर्ण सहभागिताका लागि पहल गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डा केदार सुवेदीले जानकारी दिए  ।