२२ फागुन, ब्रसेल्स । पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार ब्रसेल्समा एक महत्त्वपूर्ण नेतृत्व शिखर सम्मेलनअघि बोल्दै युरोपेली साझेदारहरूलाई पेरिसको आणविक छाता विस्तार गर्ने सम्भावित प्रस्तावमा फ्रान्सको स्थिति ‘अत्यन्त आशाजनक’ रहेको बताएका छन् ।
युरोपेली सङ्घ इयुका २७ राष्ट्रका नेताहरू युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग वार्ताका लागि भेला भएका छन् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई सैन्य सहायता रोकेसँगै युद्धग्रस्त देशलाई समर्थन सुदृढ गर्ने लक्ष्य राखेका छन् ।
बुधबार एक भाषणमा राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सको आणविक सुरक्षा अन्य युरोपेली राष्ट्रहरूमा विस्तार गर्नेबारे छलफल गर्ने घोषणा गरेका थिए ।
“फ्रान्सको यो तत्परता, यो अत्यन्त आशाजनक कुरा हो”, पोलिस प्रधानमन्त्री डोनाल्ड टस्कले ब्रसेल्समा पत्रकारहरूलाई भने “हामीले यो प्रस्तावलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”