कर्णाली प्रदेश

नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती नेपाली र नेपालको लागि पुँजी हो : मुख्यमन्त्री कँडेल

२३ फागुन, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल प्रहरी आन्तरिक सुरक्षाको मियो भएको बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८१’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आन्तरिक सुरक्षाको मियोको रुपमा स्थापित नेपाल प्रहरी समयसापेक्ष अगाडि बढ्ने सके मात्र नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूत गर्ने बताए ।

अपराधका शैली फेरिँँदै गएकाले सूचना र प्रविधिको विकाससँगै अनुसन्धान अभियोजना प्रक्रियालाई पनि वैज्ञानिक र वस्तुवादी बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले भने, “अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती हामी नेपाली र नेपालको लागि पुँजी हो । सीमित साधन र स्रोतका बाबजुद यो पुँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलता प्रशंसनीय छ । जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै बिना बर्दीका सिपाही मानिने आम नागरिकको भरोसा जित्ने गरी तपाईहरुका आचरण, व्यवहार र शिष्टतालाई त्यसतर्फ केन्द्रित गर्नुस् ।”

नविनतम आविष्कार र प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरीले आफूलाई दक्ष र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।

मुख्यमन्त्री कँडेलका अनुसार अपराध नियन्त्रणमा जानी नजानी गरिने लापरबाही वा बद्नयितले सिङ्गो राज्य व्यवस्थाप्रति नै नकारात्मक प्रभाव पार्ने विषयलाई हामीले हेक्का राख्नैपर्दछ । उच्च अदालत सुर्खेतका कायम मुकायम न्यायाधीश कृष्णलाल भट्टराईले प्रविधिबाट हुने अपराध निकै चुनौतीपूर्ण भएको जनाउँदै यसमा अनुसन्धान प्रक्रियालाई प्रविधिसँग जोडेर लिनुपर्ने सुझाव दिए ।