२४ फागुन, झापा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
पार्टीको पूर्वआप्रवास समन्वय विभागले आज विर्तामोडमा आयोजना गरेको ‘स्वदेशदेखि विदेशसम्म’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा जान समय नलाग्ने धारणा राखे ।
“हाइड्रोपावर, कृषि उत्पादन, जडीबुटी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी गरेर आयस्तर बढाउन सकिन्छ”, उनले भने, “यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।” विदेश जाने नेपालीलाई कमदक्ष, दक्ष र अध्ययन गरी तीन किसिममा प्रकारमा बाँड्नुपर्ने धारणा राख्दै नेता कोइरालाले देश विकासका लागि विदेशमा सिकेका सीप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकामा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले जनतामा चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेलाई प्राप्त भएको भन्दै वर्तमान गठबन्धनबाट बनेको सरकारले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए । उनले विश्वमा अर्थतन्त्रको ढाँचा फेरिएको उल्लेख गर्दै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गरिरहेका बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सरिता प्रसाई, राजीव कोइराला, सुशीला ढकाल आचार्य, डा गोविन्द पोखरेल, गोमा भट्टराई, दिनेश कोइरालालगायत वक्ताहरूले विदेशमा रहेका नेपालीलाई स्वदेशमा सीप र श्रमको सदुपयोग गर्ने नयाँ नीति र कार्यक्रमको खाँचो रहेको औँल्याएको थिए ।
दुई दिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरिका एक सयबढी प्रतिनिधिको सहभागिता रहेको विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईंले जानकारी दिए । कार्यक्रममा पूर्वआप्रवासीहरूको तथ्याङ्क सङ्कलन, उनीहरूमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल हुने र छलफलमा उठेका विषयवस्तुको दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने उनले उल्लेख गरे ।
नेपाली कांग्रेस पुर्व आप्रवासी समन्वय केन्द्रीय बिभागले बिर्तामोडमा आयोजना गरेको कोशी प्रदेश स्तरिय कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाका साथमा केन्द्रीय सदस्यहरु( बलबहादुर केसी, डा मिनेन्द्र रिजाल, सरिता प्रसाईं, डा गोविन्दराज पोख्रेल, गोमा भट्टराई, सुशीला ढकाल, राजिव कोइराला, पुर्व आप्रवासी समन्वय केन्द्रीय बिभागका संयोजक दिनेश कोइराला, पुर्व केन्द्रिय सदस्य गुरु घिमिरे, पुर्व आमन्त्रित केन्द्रीय सदस्य सुधिर शिवाकोटी, झापा सभापति देउमान थेवे, मोरङ सभापति डिगबहादुर लिम्बू, धनकुटा सभापति दिनेश राई, कोशी प्रदेश भौतिक पुर्वाधार राज्यमन्त्री भूमि राजवंशी, सभा सांसद शमशेर राई र गोविन्द गिरी, कोशी प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, नेता बसन्त भट्टराई, बिराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले आफ्नो मन्तव्यसहितको उपस्थिति थियो ।
