समाचार

चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित

१३ चैत, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले चितवनमा निर्मित भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्ती नगरपालिकाका १६ हजार २४४ जना प्रत्यक्ष लाभान्वित हुने बताएका छन् ।

आज यहाँ खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले विगतमा स्वच्छ खानेपानी अभाव हुँदा यहाँका नागरिकले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि खानेपानीको समस्या समाधान भएको बताए

उनले भने, “यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयले सञ्चालनमा ल्याएको हो । यसले राप्ती–४, ५, र ६ वडालाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार २०० धुरीका १६ हजार २४४ जनालाई प्रत्यक्ष लाभ पुग्नेछ ।”

मन्त्री यादवले भने, “यसअघि स्वच्छ पानीको अभावका कारण यहाँका बासिन्दाको दैनिकी कष्टकर थियो । आजको दिनले राप्ती क्षेत्रका नागरिकको नयाँ युगको सुरूवात गरेको छ ।” सङ्घीय सरकार, उपभोक्ता समिति, स्थानीय समुदायको साझा प्रतिबद्धता सहकार्य र परिश्रमले आज यो महत्त्वपूर्ण योजना सफल भएको उनको भनाइ छ ।

मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती–४, ५, र ६ का बासिन्दालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ । विगतमा स्थानीयले इनार र ट्युबेलको पानी उपभोग गर्न बाध्य रहेका जनाउँदै उनले उक्त पानी परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था अब अन्त्य भएको बताए। यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यहाँ २४ सै घण्टा स्वच्छ, शुद्ध र सुरक्षित खानेपानी उपलब्ध हुने उनले विश्वास व्यक्त गरे ।