समाचार

तीनकुनेको हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा थप छ जना पक्राउ

२६ चैत, काठमाडौँ।  नेपाल प्रहरीले चैत १५ गते काठमाडौँको तीनकुनेको घटनामा संलग्न रहेका आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ।  उनीहरूलाई विभिन्न अराजक,हिंसात्मक गतिविधिमा संलग्न  भएको भन्दै पक्राउ गरिएको हो। 

पक्राउ परेकालाई अदालतबाट म्याद लिएर हिरासतमा राखिएको प्रहरीले एक सूचना मार्फत जानकारी दिएको छ। 

पक्राउ पर्नेमा काभ्रे नमोबुद्धकी ऐनी भन्ने ३० वर्षकी अनिता कुँवर ,सुनसरीको धरान घर भई हाल काठमाडौँ ३१ बस्ने २७ वर्षका दिवस बोगटी क्षेत्री, सर्लाहीको कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षका अमित शाह, र सिन्धुपाल्चोकको बाह्रबिसे ९ का ३० वर्षका कुमार तामाङ रहेका छन्।  त्यस्तै बर्दिया घर भएका हेमराज थारु र सुनसरी घर भएका सुमन कार्की रहेका छन्। 

उनीहरू सिसिटिभी फुटेज तथा अन्य भिडिओहरूमा देखिए अनुसार आगजनी तथा तोडफोडमा संलग्न रहेको प्रहरीले बताएको छ ।उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले एक सूचना मार्फत जानकारी दिएका हुन्।