२६ चैत, काठमाडौँ । चैत २० गते देखि शिक्षा महासङ्घको अगुवाइमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनमा रहेका शिक्षकहरूले आज बत्ती बालेर विरोध प्रदर्शन गरेका छन्। माइतीघर देखि बानेस्वरसम्म सरकारको खोजी गर्दै दिउसै मोबाइलको लाइट बालेर गर्दै साङ्केतिक विरोध प्रदर्शन गरेका हुन्।
यस अघिका आन्दोलनमा शिक्षकहरूले कालोपट्टि बाँधेर, कालो मास्क लगाएर सरकारको ध्यानाकर्षण गराएका थिए। त्यस्तै सिट्ठी फुकेर, मौन भएर, सडकमै सुतेर समेत प्रदर्शन गरेका थिए।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐनको माग गर्दै देश भरका शिक्षकहरू काठमाडौँ जम्मा भएर आन्दोलन गरी रहेका छन् । आफ्नो दोस्रो चरणको निर्णायक आन्दोलन भन्दै माग पुरा नभए सम्म आन्दोलन नरोक्ने शिक्षकहरूको अडान छ।
आफ्ना मागलाई सरकारले छिटो सम्बोधन गरोस् भन्नका लागी चैत २५ गते देखी देशभरका शैक्षिक संस्थाहरूमा आम हड्ताल समेत घोषणा गरेर सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ।
यता सरकार पक्ष भने संसद्को हिउँदे अधिवेशन सकिएकाले तत्काल माग पुरा गर्न नसकिने भन्दै पन्छिने कोसिस गरिरहेको छ।