समाचार

विद्यालय शिक्षा ऐनको माग गर्दै ‘हात उठाएर’ सरकार विरुद्ध शिक्षकहरूको विरोध प्रदर्शन 

२७ चैत, काठमाडौँ।  एक सातादेखि आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शन गरेका छन्। आजको प्रदर्शनमा उनीहरूले हात उठाएर सरकारको विरोध गरेका हुन्।

विद्यालय शिक्षा ऐन जारी हुनु पर्ने एक मात्र माग राखेर चैत २० गते देखि देशभरका शिक्षकहरू आन्दोलित बनेका हुन्। यस आन्दोलनको अगुवाइ शिक्षक महासङ्घले गरेको छ। 

विरोधका अनेक रूप अपनाएका शिक्षकहरूले सडकमा सिट्ठी बजाउँदै, दिउसै लाइट बाल्दै सरकारको ध्यानाकर्षण गराइरहेका छन्। हिजो कालो मास्क लगाएर विरोध प्रदर्शन गरेका थिए भने उनीहरूले आज हात उठाएर सरकारको विरोध गरेका हुन्। 

उनीहरूले विद्यालय शिक्षा ऐन जारी गराउन अहिले भएको आन्दोलनलाई  निर्णायक आन्दोलन भन्दै देशैभरका शैक्षिक संस्थामा आम हड्ताल घोषणा गरेर आन्दोलनमा होमिएका हुन्। महासङ्घले चैत २५ गते देखि शैक्षिक आम हड्ताल घोषणा गरिसकेको छ। 

महासङ्घलाई सरकारले वार्ता र संवादको लागी पटक पटक बोलाए पनि वार्ताको औचित्य नभएको भन्दै सरकारको प्रस्ताव अस्वीकार गर्दै आएका छन्।