५ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घको अगुवाइमा भइरहेको शिक्षक आन्दोलन आज १७ औँ दिन पनि झनै सशक्त र ठुलो सङ्ख्यामा शिक्षक कर्मचारी सहभागी भएर प्रदर्शन भइरहेको छ।
आज पनि माइतीघर बबरमहल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध पारेर प्रदर्शन गरेका हुन्।
विद्यालय शिक्षा ऐन जारी हुनु पर्ने भन्दै चैत २० गते देखि देशै भरका शिक्षक कर्मचारी सडक आन्दोलनमा छन्। आज भएको आन्दोलनमा विभिन्न प्लेकार्ड सहित शिक्षकहरू सडकमा आएका छन्।
आज देखिएको एउटा प्लेकार्डले सबैको मन खिचेको छ। एक जना प्रदर्शनमा सहभागी प्रदर्शनकारीले आफ्नो ढाडमा टाँसेको प्लेकार्डले चर्चा पाएको छ। उनले ‘नयाँ शिक्षा ऐन जारी गर्ने कि म पनि विदेश तिर जाऊँ? भन्दै लेखिएको प्लेकार्ड आफ्नो ढाडमा टाँसेर प्रदर्शन गरेका हुन्। उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सरकारलाई दबाब दिन बन्दै चैत २५ गतेबाट आम शैक्षिक हड्ताल घोषणा गरेर देशैभरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरू काठमाडौँ केन्द्रित भएका हुन्।
सरकारसँग पटक पटक वार्ता गरे पनि कुनै उपलब्धि नभएको भन्दै महासङ्घले आन्दोलन झनै सशक्त बनाउने निर्णय गरेको छ।