अन्तर्राष्ट्रिय

ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै

१५ वैशाख, रियो डि जेनेरियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिबाट उत्पन्न हुने खतराहरूको सामना गर्न संयुक्त मोर्चा प्रस्तुत गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू सोमबार ब्राजिलमा भेट्ने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले यस हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापक नयाँ करको प्रभावमा वृद्धिको पूर्वानुमान कटौती गरेपछि विश्व अर्थतन्त्रका लागि यो बैठक महत्त्वपूर्ण क्षणमा आएको हो ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित हालका अध्यक्ष ब्राजिलसहितका व्यापारिक समूहका कूटनीतिज्ञहरू जुलाई महिनामा हुने नेताहरूको शिखर सम्मेलनको पूर्वतयारीका रूपमा रियो डि जेनेरियोमा दुई दिनका लागि भेट्नेछन् ।

“मन्त्रीहरूले बहुपक्षीय व्यापार प्रणालीको केन्द्रीयता र महत्त्व पुनः पुष्टि गर्ने उद्देश्यले एक घोषणापत्रका लागि वार्ता गरिरहेका छन्”, ब्राजिलका ब्रिक्स प्रतिनिधि माउरिसियो लिरियोले शनिबार पत्रकारहरूलाई बताए ।

सन् २००९ मा यसको स्थापना भएदेखि यो समूह उल्लेखनीय रूपमा विस्तार भएको छ र अहिले इरान, इजिप्ट र संयुक्त अरब इमिरेट्सलाई यसले समावेश गर्दछ । यसले विश्वको जनसङ्ख्याको लगभग आधा र विश्वव्यापी कुल ग्राहस्थ्य उत्पादन जिडिपीको ३९ प्रतिशत समेट्छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले दर्जनौँ देशमा १० प्रतिशतको सामान्य भन्सार शुल्क लगाएको छन् तर चीनले धेरै उत्पादनमा एक सय ४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्दैछ । बेइजिङले अमेरिकी वस्तुहरूमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

ट्रम्पले ब्रिक्स देशहरूले अमेरिकी डलरलाई कमजोर पारेमा एक सय प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन् ।

ब्राजिलका विदेशमन्त्री माउरो वियेराले रूसका विदेशमन्त्री सर्गेई लाभरोभ र चीनका विदेशमन्त्री वाङ यी लगायत अन्य मन्त्रीहरू उपस्थित हुने बैठकको आयोजना गर्नेछन् ।

यो बैठक बिहान ११ः०० बजे १४०० जिएमटी तिर सुरु हुने अनुमान छ र अपराह्नमा एक वक्तव्य जारी हुने अपेक्षा गरिएको छ ।

ब्राजिलद्वारा अमेजनियन सहर बेलेममा नोभेम्बरमा आयोजित हुने संयुक्त राष्ट्रसङ्घको कोप३० जलवायु शिखर सम्मेलन अगावै जलवायु परिवर्तनलाई एजेन्डामा उच्च प्राथमिकता दिइने अपेक्षा गरिएको छ ।

ट्रम्पले रूस र युक्रेनलाई शान्ति सम्झौताको दिशामा धकेल्न खोज्दै गर्दा यस समूहले युक्रेनमा भइरहेको युद्धबारे पनि छलफल गर्ने सम्भावना छ ।

मङ्गलबारको छलफलमा ब्रिक्सलाई पूर्व सोभियत राज्यहरूका साथै क्युबा, मलेसिया, थाइल्यान्ड, युगान्डा र नाइजेरिया सहित अन्य नौ ‘साझेदार’ देशले साथ दिनेछन् ।