साहित्य

कवि समीप बैरागीको ‘साहीमासा’को गृहविमोचन

१९ वैशाख ,रोल्पा । कवि समीप बैरागीको कवितासङ्ग्रह ‘साहीमासा’को गृहविमोचन गरिएको छ । रोल्पाको लिबाङमा आयोजित कार्यक्रममा साहीमासाको विमोचन गर्दै साहित्यकार डी.बी. टुहुरोले समीप बैरागीका कविताहरु परिवर्तनको पक्षमा रहेको बताए ।

‘साहीमासा क्रान्ति र परिवर्तनको पक्षमा छ’ टुहुरोले भने, ‘कविताहरु पढिरहँदा सबैमा एककिसिमका उर्जा प्राप्त हुने भएकाले सबैले पढ्नैपर्छ ।’ राष्ट्रभाव र देशप्रेमले ओतप्रोत उक्त सङ्ग्रह नेपाली गद्य कविता विधाको उत्कृष्ट कृति रहेको उनले दाबी गरे ।
कार्यक्रममा बोल्दै कवि समीप बैरागीले आफूले भोगेको सामाजिक जनजीवन तथा परिवर्तनको हुटहुटी सङ्ग्रहमा उल्लेख गरेको बताए ।

कृतिका बारेमा कविहरु चन्द्र जीएम, भगवती बुढामगर र डी.बी. मगर ‘स्वेद’ले समीक्षात्मक टिप्पणी गरेका थिए । सहिदस्मृति साहित्य प्रतिष्ठान, रोल्पाको आयोजना रहेको कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष आभाष बेसहाराले युवा साहित्यकारहरुको उर्जाका लागि पनि यस प्रकारको कार्यक्रम आवश्यक रहेको बताए । सङ्ग्रहमा उल्लेखित कविताहरु विभिन्न व्यक्तिहरुले वाचन गरेका थिए भने हिमा खड्का ‘मनसुन’ले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

रोल्पाको मिरुलमा जन्मिएका कवि समीप बैरागीको ‘साहीमासा’ पहिलो एकल कवितासङ्ग्रह हो । साहीमासामा विभिन्न ६ खण्डमा ४५ वटा कविताहरु सङ्गृहित छन् । रोजगारीका शिलशिलामा पोखरामा रहेका उनी पछिल्लो समय गद्यकविता लेखनमा सक्रिय छन् ।