राजनीति

काँग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा, आउला त गृहमन्त्रीको राजीनामा ?

१२ जेठ, काठमाडौँ । पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकको विवाद उत्कर्षमा पुगेको बेला नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ ।  पार्टीभित्रबाटै गृहमन्त्रीको राजीनामाको माग उठिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बसिरहेको हो। 

काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी बैठक बिहान साढे ९ बजे सुरु भएको बताइएको छ। गृहमन्त्री लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको भिजिट भिसा प्रकरणको आरोपमा मुछिएको विषय आजको बैठकको मुख्य विषय बन्ने आंकलन गरिएको छ। 

यस अघि वरिष्ठ नेता शेखर कोइरालाले गृहमन्त्रीको विषयमा प्रश्न उठिसकेकाले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए। भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठुलो रकम लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो। यस विषयमा देशमा प्रतिष्ठित सञ्चार गृहले समेत समाचार सम्प्रेषण गरेका थिए। 

साथै आजको बैठकमा क्रियाशील सदस्यतालगायत एजेन्डामा छलफल हुने भनिएको छ। समसामयिक राजनीतिक विषय, पार्टीको भ्रातृ संस्थाका सन्दर्भमा पनि आजको बैठक केन्द्रित हुने बताइएको छ।