१२ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रतिक्रिया दिने नाममा उत्तेजित अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री जे अभिव्यक्ति सुनियो त्यो आइन्दा दिनमा नदोहोरिनेमा आफूले विश्वास लिएको बताए।
महामन्त्री थापाले आज सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि यस्तो धारणा राखेका हुन्। उनले प्रधानमन्त्री जस्तो व्यक्तिले अभिव्यक्ति मार्फत कसैलाई पनि उत्तेजनामा ल्याउन नहुने बताएका हुन्।
उनले प्रधानमन्त्रीबाट त्यस्तो अभिव्यक्ति आउँछ भन्ने कुरा कल्पना पनि नगरेको बताए ।
प्रधानमन्त्री ओलीले एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा राजवादीहरूको आन्दोलन लक्षित कडा अभिव्यक्ति दिएका थिए। उनले गणतन्त्र दिवसको दिन जेठ १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न भन्दै नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
राजसंस्था पुनर्स्थापनाको लागि भन्दै १५ जेठबाट राप्रपालगायतका दल र विभिन्न राजावादी सङ्घसंस्थाले आन्दोलनको घोषणा गरेका थिए। सोही आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले जेठको १५ गते ११ बजे देखि २ बजेसम्म काठमाडौँ एमालेको नियन्त्रणमा राख्न आदेश जारी गरेका थिए।