समाचार

रोजगारीका लागि प्रविधिमैत्री जनशक्ति आवश्यक छ: श्रममन्त्री भण्डारी

१३ असार, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताएका छन् ।

आज मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारीपत्र हस्ताक्षर कार्यक्रममा उनले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादनमा जोड दिएका हुन् ।

मन्त्री भण्डारीले श्रम क्षेत्रको अध्ययनको आवश्यकता औँल्याउँदै विश्वविद्यालयहरुसँगको सहकार्यमा ‘डिप्लोमा इन लेबर स्टडिज कोर्ष’ सञ्चालन गर्ने तयारीबारे समेत जानकारी दिए ।

श्रम मन्त्रालयले दिने सबै सेवाहरु एकीकृत रुपमा प्रवाह गर्नका लागि सबै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सूचना प्रवाह भइरहेको उनले बताए । उनले सूचनाको अभावमा रोजगारीका लागि उपलब्ध भएका अवसर सदुपयोग हुन नसकेको समेत उल्लेख गरे ।

मन्त्री भण्डारीले श्रम र आप्रवासनको क्षेत्रलाई सर्वसुलभ बनाउन स्विटजरल्यान्ड सरकार र स्विस कन्ट्याक्टको भूमिका महत्वपूर्ण रहेको भन्दै चर्चा गरे । उनले नेपालमा पहिलोपटक राष्ट्रिय आप्रवासन नीति टुङ्गिने अवस्थामा पुगेको जानकारी गराउँदै छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वाससमेत व्यक्त गरे ।

सोही अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक सम्झदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले तालिम र सीपको तादाम्यता, आवश्यकता र तालिमबीचको तादाम्यतासँगै तालिमको सबैलाई पहुँच र अवसर व्यवस्थापनका लागि यो त्रिपक्षीय सम्झदारीले सहयोग गर्ने विश्वास व्यक्त गरे । तीनै संस्थाले एकअर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पु¥याउने उनको भनाइ थियो ।