गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारको बजेट पारित

१३ असार, गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गरेका थिए।

आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरिएको बताए । पुरानो दायित्व थपिँदा कास्की र गोरखामा बढी बजेट विनियोजन भएको उनको भनाइ थियो । “कास्की प्रदेशको राजधानी र पर्यटकीय राजधानीसमेत भएकाले बजेटको प्राथमिकतामा पर्नु स्वभाविक हो, गोरखामा पुराना आयोजनाको दायित्व सिर्जना हुँदा बजेट बढी विनियोजन भएको हो”, मुख्यमन्त्री पाण्डेले भने ।

भौतिक पूर्वाधारतर्फ रु ५० लाखभन्दा कमका योजनामा बजेट नराख्ने भनिए पनि पुरानो दायित्वकै कारण कतिपय योजनामा त्योभन्दा थोरै बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको थियो ।