१३ असार, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा सरकारले संसद् अवरोध भइरहोस् भन्ने चाहेको आरोप लगाएका छन्। आज अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले माओवादी केन्द्रले सदन खुलाउन गरेको पहलबारे धेरै साथीहरूले नबुझेका कारण आफुलाई दुःख लागेको गुनासो गरे। उनले भने, ‘अहिले पनि सरकारको नेतृत्वले सदन नचलेदेखि, सदन भङ्ग भइदिएदेखि अध्यादेशबाट सबै गर्न चाहेको बुझिएकाले आफ्नो पार्टी दुई बुँदे गर्न बाध्य भएको स्पष्ट पारे।
प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आएको भन्दै अध्यक्ष दाहालले धेरै मेहनत गरेर सङ्घीय निजामती, विद्यालय, नागरिकता विधेयक, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने आवश्यकता यही सदनबाट गर्नुपर्ने भएकाले सदन भङ्ग नहोस् भनेर जिम्मेवार बनेको दाबी गरे।
अध्यक्ष दाहालले एक थरी मानिसहरूले गलत प्रचार गरेर नेतृत्वलाई कसरी घेराबन्दी गर्ने भनेर लागिरहेको भन्दै असन्तुष्टि जनाए।