समाचार

बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा

१५ असार, काभ्रेपलाञ्चोक। गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी भरान गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्यूपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ ।

बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छ्याउन ठूला बोल्डर ‘स्ट्याण्डबाई’ राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनःनिर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५÷१५ वटा उपकरणका साथै डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जीनियर सुमन योगेशले बताए ।

नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनःनिर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो ।

योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनःनिर्माण हुने सडकमध्ये डालाबँेसीदेखि चार सय बेँसीसम्मको साडे आठ किमीका लागि खानी÷कमलजीत÷एवान जेभी छनोट भएको छ । उक्त सडकखण्ड पुनःनिर्माण गर्न निर्माण व्यवसायीसँग रु एक अर्ब ४२ करोड कबोल भएको जनाइएको छ । काभ्रेपलाञ्चोकतर्फको चार सय बँेसीदेखि भकुण्डेबेँसीसम्मको ११ किमी सडक पुनःनिर्माणका लागि भने प्राविधिक मूल्याङ्कनको काम भइरहेको योगेशले बताए ।

यस्तै काभ्रेपलाञ्चोकतर्फकै बर्षेखोलादेखि डालाबेँसीसम्मको साढे पाँच किमी सडकखण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइका र नेपाल सरकारले पुनःनिर्माण गर्ने भएका छन् । उक्त तीन दशमलव दुई किमी जाइकाले र दुई दशमलव तीन किमी सडक नेपाल सरकारले पुनःनिर्माण गर्ने जनाइएको छ । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकदेखि बर्षेखोलासम्मको चार किमी सडक भने सम्झौताका चरणमा रहेको छ ।

क्षतिग्रस्त सडक नेपाल सरकारबाट रु आठ अर्ब ५० करोडको बजेट सुनिश्चितता प्राप्त भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि रु एक अर्ब बजेट सुनिश्चितता भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनःनिर्माणको काम सुरु हुँदैन । भकुण्डेबेँसीदेखि नेपाल थोकसम्मको पुनःनिर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाइने छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक० निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।