१६ असार, काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ। शिक्षकहरूको आन्तरिक र खुला प्रतिस्पर्धाको विषयमा सहमति नभएपछि नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच भएको छलफल स्थगित भएको हो।
शिक्षामन्त्री रघुजी पन्तले सहमतिको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेर छलफल गरेका थिए। पन्तले देउवालाई भेटेर फर्कन साथ समितिको बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए। अझै छलफल नै गर्नु पर्ने अवस्था भएकाले बैठक स्थगन गर्नु पर्ने मन्त्री पन्तले बताएका थिए।
शिक्षक महासङ्घले आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुलामा २५ प्रतिशत पदपूर्ति हुनुपर्ने माग राखेका छन्। यस विषयमा सरकार र महासङ्घ बिच सहमति बन्न सकेको छैन। सरकारले भने खुलाबाट ६० प्रतिशत र आन्तरिक प्रतिस्पर्धाबाट ४० प्रतिशत गर्नु पर्ने बताएको छ।