समाचार

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, सदस्यलाई बोल्ने समय मात्र तीन मिनेट

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी विधानका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक,सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसुची रहेको छ ।

पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ । त्यस्तै विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।