राजनीति

तराई-मधेशमा खानेपानी र सिंचाइका लागि सम्पूर्ण शक्ति प्रयोग गरेर काम गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेशमा खानेपानी र सिंचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्रिपरिषदको बुधबारको नै बैठकबाट मधेश प्रदेशलाई प्राकृतिक विपद घोषणा गरिएको जानकारी समेत उनले गराएका छन् । सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिंचाइ उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो सरकार राष्ट्रका सामु देखापरेका चुनौतीहरुको सामना गर्न लागेको उनको भनाइ छ । स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो संक्ल्प रहेको उनको दावी थियो । अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराई–मधेश सुक्खा समस्याले ग्रस्त भएको समेत उनले बताएका छन् । यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरु चालेको उनको तर्क थियो ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपद घोषणापछि तराई–मधेशमा कुनै सामग्री आवश्यक परेमा वा ‘डिपबोरिङ’ गर्नुपरेमा सहज हुने भएका कारण यसतर्फ सरकार गम्भीर रहेको बताएका छन् । अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेमा उनले जोड दिएका थिए। यस सम्बन्धी गर्नुपर्ने काममा आफूले कुनै कुसर बाँकी नराख्ने उनको दावी छ ।