८ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले मधेश प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । मधेश प्रदेशलाई विपद संकट क्षेत्र घोषणा गरेता पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै उनले खेद प्रकट गरेका छन् ।मधेशमा सिंचाइ र खानेपानीको अभावको बारेमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका उनले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैकले मधेश प्रदेशभरी विपद संकटग्रस्त घोषण गरेको थियो । त्यसअघि गत असारमा बसेको मन्त्रिपरिषदको बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यस्तै, समाजवादीकै अर्का सांसद प्रकाश ज्वालाले कर्णाली प्रदेशमा तुईन विस्थापन, किसानलाई मल र मधेशमा पानीको आपत्कालिन व्यवस्थापन लगायतका विषयमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका थिए । उनले मन्त्रीहरुको सम्पक्ति सार्वजनिक गर्न समेत माग गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले मधेशमा पानीको अभाव सम्बन्धी विषय सम्बोधनका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिएकी छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद बिमला सुवेदीले रसुवाको नौकुण्ड गाउँपालिकामा दुई बालिकाको शंकास्पद मृत्यु भएको भन्दै उक्त घटनाको बारे ढिलासुस्ती नगरी अनुसन्धान गर्न ध्यानार्कषण गराएकी हुन् ।
त्यस्तै, बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले डेंगु संक्रमण बढन थालेको भन्दै ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानार्कषण गराएका थिए ।सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराउदै उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नेपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, नेकपामाओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले चितवनको राप्ती नगरपालिकामा राजनीतिक खिचातानीका कारण कर्मचारी भर्ना र निकाल्ने काम भइरहेको बताए। उनले यस नगरपालिकाका ६९ जना कर्मचारीलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन सम्बन्धीत निकायको ध्यानार्कषण समेत गराएका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका सांसद दीपक गिरीले सडक दुर्घटनको बढदो जोखिमको बारेमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका थिए। अमेरिकाको लुइसिया टेक युनिभर्सिटीमा अध्ययनरत दुई जना नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको र उनीहरुको अभिभावकलाई दाहसंस्कारका लागि अमेरिकाको भिसा उपलब्ध गराउन सहज व्यवस्था गर्न समेत उनले माग गरेका हुन् ।





