समाचार

प्रतिनिधि सभाबाट मानव बेचविखन विधेयक स्वीकृत

८ साउन, काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकृत गरेको छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। विधेयकका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री सुडीले विधेयक महत्वपूर्ण रहेको र यसमा आवश्यक सुधार भए समेटेर अघि बढाउने विश्वास व्यक्त गरेका थिए।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु वासुदेव घिमिरे, दामोदार पौडेल वैरागी, नागिना यादव, बिजुला रायमाझी, सराज अहमद फारुकी, जनार्दन शर्मा, विमला सुवेदी, प्रतिक्षा तिवारी, भगवती चौधरी, ठाकुर गैरे, रामप्रकाश चौधरी, नारायणी शर्मा, सुशीला सिर्पाली ठकुरी, प्रेम सुवाल, हर्कमाया विश्वकर्मा, रणकुमारी बलम्पाकी मगर, रुपा सोशी (चौधरी), रमा कोइराला पौडेल, जावेदा खातुन जागा र रणेन्द्र बराली सहभागी भएका थिए ।

बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि बैठकमा सभामुखको आसनबाट सांसद दुर्गा राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ।