९ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्ज सम्बन्धी विभिन्न कसुरमा ४ सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
वन सम्बन्धी अपराधमा २ सय ६६ र वन्यजन्तु सम्बन्धी अपराधमा १ सय ७६ जनालाई पक्राउ गरेको निकुञ्जले जनाएको हो। गैंडा मुद्दामा आठ, बाघसम्बन्धी मुद्दामा एक, बँदेलका २६, पन्क्षीका तीन, सालकका पाँच, माछाका १ सय २६, ढंंगागिट्टि, बालुवाका पाँच, घाँसदाउँराका १ सय ४१ र निगुरोका ८७ जनालाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर बताएका छन्।
अनुमतिबिना निकुञ्जभित्र प्रवेश गर्ने २३, निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गर्ने ६, हिउँचितुवा कसुरमा दुई, चितुवामा ५ र च्याउसम्बन्धी कसुरमा ४ जनालाई पक्राउ गरी कारबाही गरिएको उनले जानकारी दिएका थिए । पक्राउ परेकाविरुद्ध विभिन्न २६ वटा मुद्दा दर्ता भएका बताउँदै सूचना अधिकारी मगरले जिल्ला अदालतमा चार वटा र अन्य मुद्दा निकुञ्ज कार्यालयमा दर्ता भएका जानकारी दिएका छन्। अदालतमा दर्ता गरिएका मुद्दामा सालक, गैंडा र बाघ सम्बन्धी रहेका छन् ।
निकुञ्जले दर्ता गरेका मुद्दा मध्ये १४ वटाको फैसला गरिएको छ । गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दासहित ती मुद्दा फैसला गरिएको उनले बताएका छन् । चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका २६ वटा मुद्दा रहेको उनले जानकारी दिएका हुन् ।





