९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद एक हप्ता थपिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकले उक्त समितिको म्याद थपका लागि सहमति जनाएको हो । सभामुख देवराज घिमिरेले शुक्रबार समितिबाट एक हप्ताको कार्यावधि थप गर्नका लागि माग भएको बता बताएका हुन्। निजामती सेवा विधेयक, २०८० माथिको राज्य व्यवस्था समितिको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि गत असार २३ गते प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो ।
सोही विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधि सभामा पठाउदा अवकाश प्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएको विषयमा अध्ययन तथा छानबिनको लागि उक्त विशेष समिति गठन भएको थियो । त्यस्तै, प्रतिनिधि सभाको शुक्रबारको बैठकले संसदीय समितिका सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रहेका दिक्पालकुमार शाहीलाई महिला तथा सामाजिक मामिला समितिमा पठाइएको छ ।
सांसद विष्णुकुमार कार्की कृषि समितिबाट पूर्वाधार विकास समितिमा, प्रतिमा गौतमलाई पूर्वाधार समितिबाट कृषि समितिमा र आशा विकलाई महिला तथा सामाजिक मामिला समितिबाट कृषि समितिको जिम्मेवारी दिइएको छ । संसदीय समितिका सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने प्रस्तावलाई सभाले सहमति जनाएको हो।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनको सङ्घाईमा आयोजना हुने ‘कृत्रिम बौद्धिकता सम्मेलन–२०२५’ मा भाग लिनका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएका कारण सोही मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकिएको छ ।
कार्यभार तोकिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुक्रबार सदनलाई जानकारी गराएको हो ।





