राजनीति

कांग्रेसको रास्वपालाई प्रश्न: भिजिट भिसामै विदेश गएर आएकाले भिसाप्रति चिन्ता गर्न सुहाउछ ?’

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई भिजिट भिसाप्रति धेरै चिन्तित नहुन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले भिजिट भिसामा अमेरिकामा गएर त्यहींको नागरिकता लिएर बसेका रवि लामिछाने नेपाल आएर उपप्रधानमन्त्रीसम्म बनेको समेत टिप्पणी गरेका हुन्। दुई महिनादेखि भिजिट भिसाको नाममा संसद अवरोध गर्दै आएको रास्वपा र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरूले धेरै चिन्ता गर्न नसुहाउने बताएका छन्।

भिजिट भिसामा जाने, उतैको नागरिकता लिने, उतै घरजम गर्ने र स्वदेश फर्किएर दुई, चार वटा काण्ड मच्चाएपछि पनि देशको उपप्रधानमन्त्री बन्ने काम रास्वपाबाटै भएको उनको दावी छ । रास्वपामा धेरै नेता र सांसदहरू भिजिट भिसाबाटै अहिलेको स्थितिमा आएको समेत उनले जिकिर गरेका थिए ।

प्रमुख सचेतक घिमिरेले भिजिट भिसामा गएर बाहिरकै पासपोर्टले नेपालमा आएर देशको उपप्रधानमन्त्रीसम्म बनेको र यसको बारेमा धेरै चिन्तित नहुन रास्वपालाई आग्रह समेत गरेका छन् ।