१० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियड सम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले यस्तो माग गरेका हुन् । संघीय निजामती ऐनमा कुलिङ अफ पिरियडको बारेमा भएको छेडखानी आफूले पहिला नै प्रधानमन्त्री ओलीकै मिलेमतोमा भएको हुनसक्ने आशंका गरेको उनको भनाइ थियो । अहिले राष्ट्रिय सभामा एमालेका सांसदहरूको क्रियाकलापले त्यसलाई पुष्टि गरेको उनको दावी छ । उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने समेत बताएका थिए ।
अध्यक्ष प्रचण्डले भनेका छन्, ‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो । सरकारको नेतृत्व गर्ने पार्टी पहिला त दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो ।तर अहिले त्यो राख्न हुँदैन भनेर लास्टमा गएपछि चिज के रहेछ भन्ने कुरा बिरालोले अन्तिममा म्याउँ गरिछोड्यो भन्नेकुरा जस्तो एमालेले म्याउँ गरि नै हाल्यो । उसको नै रहेछ नियत, षड्यन्त्र । अब यसका निम्ति जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्छ । संसदीय छानबिन समितिलाई भनेको छु, शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रुपमा भन्ने आधार थिएन, अहिले एमालेका सांसदहरूले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । छानबिनको दायरामा प्रधानमन्त्री ओली स्वयं पनि पारिनुपर्छ हामीले भनेका छौं । हाम्रा माननीय सदस्यहरूले सदनमा पनि उठाएका छन्।’
अहिले जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको परिभाषा ओली नेतृत्वको सरकार भएको अध्यक्ष दाहालले आरोप समेत लगाएका थिए ।





