राजनीति

विद्या भन्दा ओली धेरै शक्तिशाली, अब डा. शेखर प्रधानमन्त्री बन्न पनि सक्छन्

बाबुराम आचार्य / राजनीति होस् वा जुनसुकै क्षेत्रमा होस् जित्नेहरूको इतिहास लेखिन्छ, लेखिनु पनि स्वभावीकै हो, जित्नेको प्रक्रिया कस्तो भयो, वा कसरी जित्यो त्यो अध्ययन पनि होला, यो बौद्धिक र आधुनिक समयमा अध्ययन हुनु पनि पर्छ, जति अध्ययन भए पनि जित्नेले जितिसकेको हुन्छ, जित्नेका हातमा साधन, स्रोत, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सबै साथमा हुन्छ, घर वा समाजका बहुमत सदस्यहरू जित्नेका पछाडि नै हुन्छन् भने हार्नेसँग जतिसुकै शक्ति भए पनि जित्नेको तुलनामा अपवाद बाहेक धेरै नै कम हुन्छ । 


यति चैँ फरक हुन्छ कि, जित्नेले हार्नेलाई व्यवस्थापन गर्न सकेन वा जानेन भने समय आए पनि भर्खरै हारेको मान्छेले पनि कालान्तर अहिले जितेकोलाई लज्जास्पद रूपमा हराउन पनि सक्छ । जित्नका लागि हरेक व्यक्ती, समुदाय, मुलुक वा विश्व आआफ्नो तरिकाले सक्रिय रहेकै हुन्छन्, राजनीति गर्नेले राजनीतिक पद हत्याउन लागिरहेका होलान्, उद्योग व्यवसाय गर्नेले कसरी राम्रो पैसा कमाउने भनेर रातदिन खटेर काम गरिरहेका होलान्, समाजसेवा गर्नेले कसरी समाजको पक्षमा राम्रो काम गरेर भगवान्को, समाजको मन जित्ने भनेर आआफ्नो तरिकाले लागिरहेकै होलान्, छन् । 


राजनीति गर्नेले वडा सदस्यदेखि प्रधानमन्त्री राष्ट्रपति कसरी बन्न सकिन्छ भन्ने ध्याउन्नमा होलान्, उद्योग गर्नेहरू उद्योगलाई कसरी स्थापित गरेर समाजको, देशको, विश्वको प्रतिष्ठित उद्योगको रूपमा आफ्नो उद्योग व्यापारको आर्थिक र सामाजिकलगायतका उन्नति गर्ने भन्ने ध्याउन्नमा होलान् त्यो फरक कुरा हो, तर यति चैँ पक्का हो कि यी माथिका दृष्टान्तहरू दिएका बाहेक पनि लगभग समाजका सबै व्यक्ति तथा संस्थाहरू हरेक तवरले जित्नकै लागि लागि आआफ्नो तरिकाले सङ्घर्ष गरिरहेका छन्, पृथ्वीको अस्थित्व रहेसम्म भविष्यमा सङ्घर्षरत रहने पनि निश्चितै छ । 


सङ्घर्ष नै जीवनको सफलताको सबैभन्दा ठुलो कडी हो । कुन प्रकारको सफलता चाहने हो त्यही प्रकारको सङ्घर्ष गर्नुपर्ला र सफलताको लागि त्यही अनुसारको सङ्घर्ष गर्नुपर्ने हुन्छ होला  भन्ने विश्वव्यापी स्थापित मान्यता नै हो ।  अमेरिकाको राष्ट्रपति बन्न पहिलो पटक डोनाल्ड ट्रम्पले जति सङ्घर्ष गरेका थिए त्यो भन्दा बढी एक कार्यकाल जो बाईडेनलाई राष्ट्रपति छाडेर अर्को पटक बन्न त्योभन्दा बढी सङ्घर्ष गर्नुपर्ने अवस्था आएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति भए पनि उनको कार्यकाल पहिलेको भन्दा धेरै विवादित रह्यो, रहिरहेको छ तर ट्रम्पका हातमा अमेरिका मात्र होइन विश्वको महाशक्ति राष्ट्रको रूपमा विश्वमा रहेको परिचय बचाउँदै बिस्तार गर्ने शक्तिशाली पद रहेको छ, विश्व बजारमा उनको व्यापक विरोध भइरहेको अवस्था रहे पनि विश्वकै शक्त सम्पन्न व्यक्तिका रूपमा डोनाल्ड ट्रम्प उदाइरहेकै छन् । यानिकी उनले शक्तिको व्यवस्थापन गर्न सकेनन् भने चार बर्से कार्यकार अगाडी पनि उनको महाअभियोग वा अन्य कुनै कारणबाट पद जाँदैन भन्ने भन्न त सकिँदैन तर त्यो अपवाद मात्रै हो । 


त्यसै गरी नेपालमा पछिल्लो समयमा जसरी सँसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको सहयोग र समर्थनमा नेकपा एमाले नेतृत्वको सरकार बन्यो, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने त्यसपछि झण्डै दुई तिहाई मतको सरकारको प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेपालका शक्तिशाली व्यक्ति बन्न सफल देखिएका छन् । उनको आलोचना नेकपा एमालेमै भइरहेको कुरालाई नकार्न सकिन्न, प्रधानमन्त्री ओलीको आलोचना मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नै पत्रकार सम्मेलनमार्फत समेत गरिन् । नेकपा एमालेको सदस्यता नवीकरण गरेर आउँदो महाधिवेशनमा अध्यक्ष हत्याउन तल्लीन उनै भण्डारीको पार्टीको सदस्यता नै नवीकरण नगर्ने वा खारेज गर्ने कार्यसमेत केपी शर्मा ओली वा नेकपा एमालेले गरिसकेको छ । 
नेकपा एमालेको अध्यक्षमा विजयी भएपछि केपी ओलीले जितेका छन्, उनले प्रधानमन्त्री बनेपछि अर्को जित हाँसिला गरेका छन् । केपी शर्मा ओली नेकपा एमालेका प्रभावशाली नेता थिए, अहिले आएर काँग्रेस र शेरबहादुर देउवाको मन जितेपछि काँग्रेससँग  पनि राजनीति गर्ने नेपालका प्रभावशाली नेताका रूपमा स्थापित हुने लाइनमा देखिएका छन् । पार्टीभित्र विद्या भण्डारीले जतिसुकै पत्रकार सम्मेलन गरे पनि, विवाद ल्याए पनि केपी होलीको होल्ड भएको नेकपा एमालेमा विद्यादेवी भण्डारीको राजनीतिक लडाइको जित हुने देखिन्न । अर्को कुरा के भने तत्काल नै पार्टी नेतृत्वमा आउने इच्छा नराखी अर्को महाधिवेशनका लागि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँग सहकार्य गरे आफूले आउँदो महाधिवेशनमा केही नपाए पनि त्यो भन्दा पल्लो महाधिवेशनमा विद्या एमाले अध्यक्षमा विजय हुने सम्भावना रहन्छ, त्यसमा भण्डारी आफू अध्यक्ष हुन नसकेमा आफ्नो पक्षलाई अध्यक्षमा विजय गराएर अर्को  नेतालाई अध्यक्षमा विजयी गराउने अर्को झिनो सम्भावना रहन्छ । 


केपी ओलीले भीम रावललाई कारबाही गरेर सडकमै पुर्‍याए, ईश्वर पोख्रेल वरिष्ठ उपाध्यक्ष रहेका भए पनि पार्टीभित्र अत्यन्तै कमजोर छन्, घनश्याम भुसालको बिजोक छ, मनमोहन अधिकारीको निधनपश्चात् १५ वर्ष नेकपा एमालेको महासचिव बनेर काम गरेर माधव नेपालको अवस्था राजनीतिक रूपमा अत्यन्तै कमजोर छ । प्रधानमन्त्रीसमेत बनिसकेका माधव कुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानसमेत लिएको अवस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएपछि माधव कुमार नेपालको राजनीतिक यात्रा त्यति सुखद देखिन्न । समाजवादी पार्टी खोलेर १० सिट ल्याउन सफल भए पनि काँग्रेस र एमाले जस्ता ठुला पार्टी मिलेर सरकार बनाएपछि माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र पछिका दलहरूको सरकारमा जान च्याँखे थाप्ने पसलहरू बन्द जत्तिकै देखिएका छन् । 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएका काँग्रेस सभापति शेरबहादुर देउवाको मन एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीले जिते र प्रधानमन्त्री बन्न सफल भए । निर्वाचन अगाडी केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने एमाले र काँग्रेसको सहमति भएको भए पनि ओली–देउवाको असमझदारी भएको खण्डमा मुलुकको राजनीति अर्कै मोडमा जाँदैन भन्न पनि सकिन्न । तर हामीले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा के भने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र पुष्पकमल दाहाल आफू प्रधानमन्त्री बन्न नसके, काँग्रेस सभापति  शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सरकार ढाल्न लागिरहेको सबैले बुझिरहेको कुरा हो, त्यसै गरी कुनै कुनै कम्युनिस्ट नेताहरू कम्युनिस्ट   पार्टीबिच एकता गराउन पनि नलागेका हैनन् । जो जो जता लागे पनि अहिलेको बलियो पक्ष भनेको चैँ आउँदो निर्वाचनसम्म काँग्रेस एमालेको संयुक्त सरकार निर्माणलाई स्थायित्व नै हो । ओलीपछाडि देउवा प्रधानमन्त्री हुने कुरा नै अन्तिम र आधिकारिक राजनीति हो ।

देउवा नबनेर डा शेखर कोइराला बन्ने भन्ने हल्ला पनि आइरहेको त्यो पनि हुन्न भन्ने चैँ छैन, शेरबहादुरले सहयोग नगरे शेखर प्रधानमन्त्री नहोलान् तर दुई समूहका प्रमुख भए पनि शेखरलाई प्रधानमन्त्री बन्न शेरबहादुरले सहयोग गर्दैनन् भन्ने छैन ।  १४ औं महाधिवेशनबाट काँग्रेसका शक्तीसाली नेता बन्न सफल भएका डा कोईराला भारतसँगसमेत राम्रो सम्बन्ध भएका कारण पनि संसदीय दलको नेता बन्ने र ओली र देउवाकै समर्थनमा प्रधानमन्त्री बन्ने सम्भावना छैन भन्ने कुरा पनि हाँसिमजाक नै हुन्छ ।
जित्नुस्, जित्नेको इतिहास लेखिन्छ, जित्नेको महत्त्व हुन्छ, अहिल्यै जित्नुस्, पछि के हो के हो रु अहिले हार्नुभयो भने पछि प्रतिस्पर्धा गर्नेको सङ्ख्या बढेर तपाईँको पालो नआउन पनि सक्छ, भन्न त एक माघले जाडो जाँदैन भन्छन् तर अहिलेको माघको जाडोमा लगाएको न्यानो स्विटर ज्याकेट अर्को जाडोमा काम लाग्छ भन्न सकिन्न, अर्को जाडोलाई भन्दा अहिल्यैकै जाडोलाई महत्त्व दिएर न्यानो कपडा किन्ने हो, अर्को जाडोमा त्यही बेला सोच्ने हो, अहिले जाडोमा लगाएर सही सलामत रहेमा अर्को जाडोमा पनि न्यानो कपडा काम लाग्दैन भन्ने त छैन तर अर्को जाडोलाई भनेर न्यानो कपडा सायदै किनिन्न होला । 
सीधा कुरा गरौँ न, यस्तै भएको छ यहाँ विद्यादेवी भण्डारीलाई एमाले अध्यक्ष नभई नहुने, केपी शर्मा ओली कुनै हालतमा नछाड्ने । केपी शर्मा ओलीले भविष्यको प्रतिस्पर्धी पन्साउन विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएर छाडे, राष्ट्रपतिबाट बाहिर आएपछि मासु भात खाएर बस्न भने, तर स्व. जननेता मदन भण्डारीकी श्रीमती के मान्थिन् र ? सक्रिय राजनीतिमा रहेकी भण्डारी एमाले अध्यक्ष बन्ने भन्दै सदस्यता नवीकरणदेखि समूह बनाउनतिर लागिन तर एमालेका शक्तिशाली अध्यक्ष ओलीले माधव नेपाललाई त सकरै छाडे, भीम रावल र विद्या भण्डारीको राजनीति सक्न त कुनै ठुलो कुरा होइन होला ।

जसले पनि बलेकै आगो ताप्ने हो एमालेका आम नेता कार्यकर्ता विद्याको पछि लाग्ने छैनन्, आम नेता कार्यकर्ता ओलीको पछि नै लाग्दछन्, किनकि ओली वर्तमान हुन्, विद्या भविष्य हुन् भन्ने कुरा गलत हुन पनि सक्छ, ओलीपछि शङ्कर पोख्रेलहरू आइसकेका छन्, विद्याको उमेर पनि युवा छैन, ओलीले पूर्व राष्ट्रपति भएका कारण नैतिक रूपमा राजनीतिमा आउन हुन्न भने पनि पदका लागि उक्त कुरा भनेका हुन्, राजनीतिक रूपमा बलियो मान्छेले जे भने पनि राजनीति हुन्छ, दुब्लोले विचारका जति पाना लेखे पनि समाजले बुझ्दैन । विद्या भण्डारीले पनि आफ्नो थप इतिहास बनाउन लाग्दा गलत हुन्न तर सङ्घर्ष गर्नुपर्छ, त्यो त्यति सजिलो चैँ छैन । झालनाथ खनाल, माधव नेपाल, भीम रावल पनि त अझै सङ्घर्ष गर्दै छन् नि होइन र ? जित्न खोज्नुस्, तपाईँले जिते मात्र समाज तपाईँको पछाडि लाग्नेछ, विद्याजी होस् वा अरू कोही, त्यो अन्तिम सत्य नै हो ? हार भनेको मरेको मान्छे र जीत भानेको जिउँदो मान्छे हो भनेर मान्दा फरक हुन्न, त्यही सोचेर सबैले अगाडी बढ्दा राम्रो होला ।