आर्थिक

चाँगुनारायणमा ३१ हजार बढी पर्यटकको आगमन, वार्षिक १ करोड १९ लाखको आम्दानी

१४ साउन, भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा गत वर्षमा ३१ हजार २ सय २५ विदेशी पर्यटको आगमन भएको छ।

चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतले मन्दिरमा भारत लगायत सार्क राष्ट्रबाट ५ हजार ७ सय ५६ पर्यटकको आगमन भएको बता€उकी हुन् । त्यसबाहेक युरोपेली देशबाट समेत २५ हजार ४ सय ५९ जना पर्यटकको आगमन भएको उनको भनाइ छ ।

चाँगुनारायणले विदेशी पर्यटकबाट १ करोड १९ लाख १० हजार ४ सय राजस्व संकलन गरेको जनाएको हो । भारत लगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३ सयका दरले पर्यटन शुल्क बापत १७ लाख २६ हजार ८ सय राजस्व संकलन भएको छ । त्यस्तै, अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४ सयका दरले १ करोड १ लाख ८३ हजार ६ सय रुपैयाँ संकलन भएको प्रमुख बस्नेतले जानकारी दिएकी हुन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत संकलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताएका छन् ।