१४ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा २ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह तामाङले उम्मेदवारी दर्ता गरेका हुन् । यी दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् । बागमती प्रदेश सभापति बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो ।
कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री तामाङको पक्षमा १५ र सभापति बानियाँको पक्षमा २२ जना उभिएका थिए । दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि तामाङ मुख्यमन्त्री पदमा आशिन रहेका छन् । मंगलबार गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता चयन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।
बुधबार बिहान ११ बजेसम्म तोकिएको समयावधिमा बानियाँ र तामाङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
समितिले उम्मेदवारको प्रारम्भिक नामावली मंगलबार बिहान साढे ११ बजे प्रकाशित गर्ने भएको छ । उम्मेदवारको नाम फिर्ता लिने समय बुधबार मध्याह्न १२ बजेसम्म तोकिएको समितिले जनाएको हो ।
त्यस्तै, समितिले बुधबार दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने र मतदान २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन जानकारी गराएको छ ।





