राजनीति

सम्मानित नेता खनाललाई पार्टीबाट नैतिकताका आधारमा बिदा हुन अध्यक्ष नेपालको आग्रह

१६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन समेत आग्रह गरेका छन् ।

विराटनगरमा शुक्रबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले नेता खनालले पार्टीको नीति विपरीत जथाभावी बोल्दै हिडेका कारण नैतिकताका आधारमा पार्टीबाट बिदा लिन आग्रह गरेका हुन् । नेता खनालले केही दिन अघि मात्रै एक टेलिभिजन अन्तर्वार्ता दिने क्रममा नेकपा एमाले टुक्र्याउनु गलत भएको भनेर अभिव्यक्ति दिएका थिए । त्यसपछि अध्यक्ष नेपालले नेता खनालप्रति आक्रोशित भएका छन् । तर अध्यक्ष नेपालले नेता खनालले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको समेत दावी गरेका थिए ।

सोही अन्तर्वार्तामा नेता खनालले पार्टी अध्यक्ष नेपालले आफूलाई अपमानजनक व्यवहार गरेको भनेर गुनासो समेत गरेका थिए । यति मात्रै हैन नेता खनालले पार्टीका अधिकांश बैठकमा समेत आफूलाई नबोलाएको समेत बताएका छन् । विगतमा एमालेमा केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी संचालन गरेको भन्दै नेता खनाल र वर्तमान समाजवादीका अध्यक्ष नेपालले २०७८ साल भदौ २ गते निर्वाचन आयोगमा आधिकारिक रुपमा नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको ४ वर्ष पूरा नहुँदै विभिन्न प्रकारका विवाद सिर्जना भएको छ ।

अध्यक्ष नेपालसँग नेता खनाल र नेतृ रामकुमारी झाक्रीको समेत केही वर्ष अघिदेखि नै सम्बन्धमा दरार उत्पन्न भएको थियो । सोही विवाद झनै उत्कर्षमा पुगेको छ । पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण नेता तथा कार्यकर्तामा निराशा पैदा भएको छ । पार्टीका अधिकांश नेता तथा कार्यकर्ता माउपार्टी एमालेमा नै फर्किएका छन् । हौसिएर नयाँ पार्टी खोलेका अध्यक्ष नेपाल आफैं टेरामक्स-भ्रष्टाचारको मुद्दामा मुछिएका छन् । विशेष अदालमा गत असार ११ गते ३५ लाख रुपैयाँ धरौटी बुझाएर नेपाल छुटेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यसरी विवादित पार्टीका अध्यक्ष नेपालले हाल नेता तथा कार्यकर्तालाई मिलाएर लैजानुुको साटो झनै निराशा पैदा गर्ने काम निरन्तर रुपमा गरिरहेका छन् ।

त्यस्तै, पार्टी नेतृत्व ओलीको विरुद्धमा बोलेकै आधारमा एमालेको उपाध्यक्ष एवं पूर्व-उपप्रधानमन्त्री समेत भइसकेका नेता भीम रावललाई करिब ४ वर्षसम्म भूमिकाविहीन अवस्थामा राखियो । त्यसपछि केही महिना अघि मात्रै लामो समयसम्म एमालेमा संघर्षरत जीवन बिताएका रावलले पार्टी छोडेको घोषणा गरेका थिए । उनले पार्टी छोड्दै गर्दा पार्टी नेतृत्व ओलीको तानाशाही प्रवृत्तिका आफू एमालेबाट बाहिरिन बाध्य भएको बताएका थिए ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीभित्र नेतृत्वको विरोध गर्ने नेता तथा कार्यकर्तालाई किनारा लगाउने प्रवृत्ति हावी भएको देखिन्छ ।